लेखनाथ तिमिल्सैनाले गणेश नेपालीको परिवारलाई रु. १ लाख १ हजार सहयोग, भावुक सन्देशले छोयो सबैको मन

theoutsidenepal.com

लेखनाथ तिमिल्सैनाको मानवीय उदाहरण : अमेरिकाबाट रु. १ लाख १ हजार सहयोग, भाइ इन्जिनियर जीवनकुमार तिमिल्सैनामार्फत गणेश नेपालीको परिवारलाई चेक हस्तान्तरण


काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको दुःखद निधनले देश–विदेशमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। यही पीडादायी घडीमा अमेरिकाको विस्कन्सिनमा बसोबास गर्दै आएका समाजसेवी लेखनाथ तिमिल्सैना र वहाँ को धर्मपत्नी रेश्मा तिमिल्सैनाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई रु. १,०१,००० (एक लाख एक हजार) आर्थिक सहयोग प्रदान गरेका छन्।


विदेशमा रहे पनि पीडित परिवारको साथ नछोड्ने प्रतिबद्धतासहित तिमिल्सैनाले आफ्ना भाइ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सभापति इन्जिनियर जीवनकुमार तिमिल्सैनामार्फत नेपालमै पुगेर मृतक गणेश नेपालीकी धर्मपत्नी तथा परिवारलाई चेक हस्तान्तरण गराएका हुन्। इन्जिनियर जीवनकुमार तिमिल्सैनाले परिवारसँग प्रत्यक्ष भेट गरी सहयोग रकम हस्तान्तरण गर्दै दुःखको यस कठिन घडीमा लेखनाथ तिमिल्सैना परिवारको साथमा रहेको सन्देशसमेत दिएका थिए।


पीडाको घडीमा देखाइएको यो साथलाई उपस्थितहरूले केवल आर्थिक सहयोगका रूपमा नभई मानवता, करुणा र सामाजिक उत्तरदायित्वको प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।


सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आफ्नो भावुक सन्देशमा लेखनाथ तिमिल्सैनाले गणेश नेपालीजस्तो एक ऊर्जाशील युवालाई गुमाउनु सम्पूर्ण नेपाली समाजकै ठूलो क्षति भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “प्रिय गणेश नेपाली भाइ, हामीले तिमीजस्तो एक कुशल युवा गुमायौं। अलि बुद्धि पुर्‍याएको भए सायद आज परिस्थिति फरक हुन सक्थ्यो। आफ्नो जिउँदो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने तिम्रो निर्णयले परिवार, देश र विदेशमा रहेका लाखौं नेपालीलाई स्तब्ध बनाएको छ। तिमीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। पीडामा रहेका परिवारजनलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। म एक्लैले धेरै गर्न नसके पनि पीडित परिवारका लागि रु. १ लाख १ हजार आर्थिक सहयोग गर्ने घोषणा गर्दछु।”


लेखनाथ तिमिल्सैना लामो समयदेखि अमेरिका बसोबास गर्दै आए पनि नेपालका गरिब, विपन्न, बिरामी तथा संकटमा परेका नागरिकहरूको सहयोगमा निरन्तर सक्रिय रहँदै आएका समाजसेवीका रूपमा परिचित छन्। प्राकृतिक विपत्ति, उपचार अभाव, आर्थिक कठिनाइ तथा विभिन्न मानवीय संकटमा परेका सयौं नेपालीलाई उनले पटक–पटक आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन्। देशभन्दा हजारौं किलोमिटर टाढा रहेर पनि जन्मभूमिका पीडितहरूको दुःखमा साथ दिने उनको मानवीय अभियान निरन्तर जारी छ।


गणेश नेपालीको निधनपछि देशभरबाट न्यायको मागसँगै परिवारप्रति सहानुभूति र सहयोगको लहर चलिरहेका बेला लेखनाथ तिमिल्सैनाले आफ्ना भाइ इन्जिनियर जीवनकुमार तिमिल्सैनामार्फत परिवारसम्म सहयोग पुर्‍याएको कार्यलाई धेरैले अनुकरणीय मानवीय उदाहरणका रूपमा लिएका छन्।


स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै लेखनाथ तिमिल्सैनाले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले दुःखको यस कठिन यात्रामा परिवारलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गर्दै समाजका सक्षम व्यक्ति तथा संस्थाहरूलाई पनि पीडित परिवारको साथमा उभिन आग्रह गरेका छन्।


प्रतिक्रिया