द टन न्युज विशेष रिपोर्ट
आईजीपी दानबहादुर कार्कीको राजीनामा मागिएको छैन, कारबाहीको तयारी पनि होइन : सरकार
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामा प्रधानमन्त्रीले मागेको र उनलाई कारबाही गर्न लागिएको भन्ने विषय पूर्णतः भ्रामक तथा निराधार रहेको सरकारले स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले आईजीपी कार्कीसँग राजीनामा मागेको वा उनीमाथि कुनै कारबाही गर्न लागेको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन्।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ प्रवक्ता पोखरेलले स्पष्ट पारे।
उनका अनुसार प्रहरी संगठनका आन्तरिक तथा संवेदनशील सूचनाहरू बाहिरिएको विषयमा नेपाल प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ तथा सोधपुछ मात्रै गरेको हो।
‘यो सूचना कहाँबाट र कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो,’ उनले भने।
सरकारको यो स्पष्टीकरणसँगै आईजीपी कार्कीको राजीनामा मागिएको वा उनलाई पदबाट हटाउने तयारी भइरहेको भन्ने चर्चाको खण्डन भएको छ।
प्रहरी संगठनभित्रको आन्तरिक प्रक्रियालाई नेतृत्वमाथि कारबाहीको तयारीका रूपमा व्याख्या गर्दै समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि र जिम्मेवार पत्रकारिताको आवश्यकता थप स्पष्ट भएको छ।
द टन न्युज
Accuracy, Balance and Credibility