राधिकाको उपचारमा मानवीय साथ: निःशुल्क उपचारका लागि केएमसीको पहल
काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै पीडादायी बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो हुँदै जाँदा ६ महिनामै टाउकोभन्दा ठूलो ट्युमरमा परिणत भयो। चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको बताए पनि कमजोर आर्थिक अवस्थाका कारण परिवारले उपचार सुरु गर्न सकेको थिएन।
सुरेशले विभिन्न माध्यमबाट सहयोग जुटाएर पटक–पटक एमआरआई गराए। रोगको अवस्था स्पष्ट भए पनि उपचारका लागि आवश्यक खर्च अभाव हुँदा अस्पताल भर्ना गराउन नसक्दा परिवार चिन्तामा थियो।
यसैबीच, जेन–जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीले सामाजिक सञ्जालमार्फत सुरेशको सहयोग अपिल देखेपछि काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्। जेन–जी आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क उपचार र सहयोगमा सक्रिय भूमिका खेलेका शर्माले राधिकाको अवस्था बुझ्नेबित्तिकै उपचारको सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरे।
त्यसपछि काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स राधिकालाई लिन उनीहरूको पायक पर्ने स्थानमा पुग्यो। सुरेश, राधिका र उनीहरूको सानो सन्तान उपचारको आशा बोकेर केएमसी पुगे। अस्पताल पुग्नुअघि नै चिकित्सक टोली उपचारका लागि तयारी अवस्थामा रहेको बताइएको छ।
उपचार सुनिश्चित भएपछि भावुक बनेका सुरेशले भने, "तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ।" उनले राधिकालाई अस्पतालसम्म पुर्याउन पहल गर्ने किशोरी कार्की र निःशुल्क उपचारको व्यवस्था मिलाइदिने सुनील शर्माप्रति आभार व्यक्त गरे।
किशोरी कार्कीले पनि आफ्नो आग्रहलाई स्वीकार गर्दै राधिकाको उपचारको व्यवस्था मिलाएकोमा सुनील शर्माप्रति धन्यवाद व्यक्त गरिन्।
हाल राधिकाको उपचार काठमाडौं मेडिकल कलेजमा जारी छ। परिवारसहित शुभेच्छुकहरूको एउटै कामना छ— राधिका पूर्ण रूपमा स्वास्थ्य लाभ गर्दै आफ्नी सानी सन्तानसँग पुनः सामान्य जीवनमा फर्किउन्।
यो घटनाले संकटमा परेका नागरिकका लागि समयमै गरिएको मानवीय सहयोगले जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिएको छ।