नेपाल र जापानबीचको ऐतिहासिक मित्रता, आपसी सम्मान र विश्वासमा आधारित सम्बन्धले सात दशकको गौरवपूर्ण यात्रा पूरा गरेको छ। प्राचीन सांस्कृतिक समानता, जनस्तरको सद्भाव र निरन्तर कूटनीतिक सहकार्यबाट सुदृढ बनेको यो सम्बन्ध अहिले आर्थिक सहकार्य र लगानीको नयाँ चरणमा प्रवेश गरेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न विशेष आह्वान गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कठिन समयदेखि विकास साझेदारका रूपमा निरन्तर साथ दिँदै आएको जापान नेपालका लागि भरपर्दो मित्र राष्ट्र रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको जलविद्युत् र पर्यटन क्षेत्र दीर्घकालीन सम्भावना बोकेका प्राथमिक क्षेत्र भएको बताउँदै जापानी प्रविधि, अनुशासन र व्यवस्थापन क्षमताले नेपालमा दिगो विकास र आर्थिक रूपान्तरण ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले नेपाल सरकारले लगानीमैत्री नीति अवलम्बन, कानुनी सुधार तथा स्थिर वातावरण निर्माणमार्फत विदेशी लगानीलाई प्रोत्साहन गर्दै आएको जानकारी गराउँदै नेपाल–जापान सहकार्य अब परम्परागत मित्रताबाट अवसर, साझेदारी र साझा समृद्धितर्फ रूपान्तरण हुँदै गएको स्पष्ट पार्नुभयो।
सात दशक लामो मित्रता अब दुवै देशका जनताबीच विश्वास, विकास र भविष्य निर्माणको सशक्त आधार बन्दै गएको सन्देश समारोहमार्फत प्रवाह गरिएको छ।
एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेल गफ गरिरहेका छन् ।