संविधान दिवसको झण्डोत्तोलनमा जनप्रतिनिधिको अनुपस्थिति, चितवनमा प्रशासन–जनप्रतिनिधि समन्वयमाथि प्रश्न

theoutsidenepal.com

संविधान दिवसको झण्डोत्तोलनमा जनप्रतिनिधिको अनुपस्थिति, चितवनमा प्रशासन–जनप्रतिनिधि समन्वयमाथि प्रश्न

द टन न्युज । भरतपुर ।

संविधान दिवसको अवसरमा चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा आयोजना गरिएको राष्ट्रिय झण्डोत्तोलन कार्यक्रमलाई लिएर प्रशासन र जनप्रतिनिधिबीचको समन्वयको विषयमा प्रश्न उठेको छ।

चितवनकै ठूलो राष्ट्रिय झण्डा राख्ने तथा झण्डोत्तोलन गर्ने उद्देश्यसहित शनिबार कार्यक्रम आयोजना गरिएको थियो। तर कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाललगायत निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति नरहेको बताइएको छ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही अभियन्ताहरूको सहभागिता रहेको थियो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले झण्डोत्तोलन गर्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधिहरूको अनुपस्थितिलाई लिएर प्रशासन र स्थानीय तहबीचको समन्वयको अवस्थामाथि चर्चा सुरु भएको छ। कार्यक्रममा सहभागी केही नागरिकले समेत प्रशासनिक शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आलोचना गरेको दाबी गरिएको छ। यद्यपि, ती नागरिकको प्रतिक्रियाबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

यसैबीच, भरतपुर महानगरपालिकाका पर्यटन तथा खेलकुद सल्लाहकार अनिल अधिकारीले द टन न्युजसँग कुरा गर्दै चितवनमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिबीचको टकराव बढ्दै गएको दाबी गर्नुभएको छ।

अधिकारीका अनुसार यस्तो अवस्था प्रशासन र सुशासनका लागि सकारात्मक नभएको बताउँदै उहाँले भन्नुभयो, “चितवनमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरूबीचको टकराव बढ्दै गएको छ। यसले प्रशासन र सुशासनलाई कुनै फाइदा गर्दैन।”

अधिकारीले संविधान दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा प्रशासन, राजनीतिक दल, स्थानीय तह र जनप्रतिनिधिबीच प्रभावकारी समन्वय भएको भए नागरिकको व्यापक सहभागितासहित कार्यक्रम आयोजना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले महानगरपालिका र प्रशासनबीचको सम्बन्ध तथा समन्वयमा समेत प्रश्न उठाउँदै प्रमुख जिल्ला अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभयो।

अधिकारीले प्रमुख जिल्ला अधिकारीको कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँ कुनै विशेष उद्देश्यसहित चितवनमा काम गरिरहनुभएको हो कि भन्ने प्रश्नसमेत उठाउनुभएको छ। यद्यपि, यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पक्ष वा प्रतिक्रिया भने यस समाचार तयार पार्दासम्म प्राप्त भएको छैन।

संविधान दिवसको कार्यक्रमजस्तो सार्वजनिक तथा राष्ट्रिय महत्वको अवसरमा स्थानीय तह र जिल्ला प्रशासनबीच देखिएको भनिएको दूरीले प्रशासन र जनप्रतिनिधिबीचको समन्वय, सहकार्य र सम्बन्धबारे नयाँ बहस सिर्जना गरेको छ।

द टन न्युजले यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा सम्बन्धित जनप्रतिनिधिको धारणा प्राप्त भएपछि थप समाचार प्रकाशित गर्नेछ।

द टन न्युज ।
www.thetonnews.com


प्रतिक्रिया