काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएन) भित्र पछिल्लो समय देखिँदै आएको निरन्तर विवाद, गुटबन्दी र कानुनी झमेलाको अन्त्य गर्दै संस्थालाई दीर्घकालीन एकताको बाटोमा लैजान अब ढिलाइ गर्न नहुने आवाज सशक्त रूपमा उठेको छ। संघका आईसीसी उपाध्यक्ष राज रेग्मीले सार्वजनिक धारणा राख्दै वर्तमान संकट समाधानको एकमात्र विकल्प “सर्वपक्षीय सहमति र पारदर्शी प्रक्रिया मार्फतको एकता” भएको बताएका छन्।
रेग्मीका अनुसार, प्रवासमा रहेका नेपालीको हक–हित संरक्षण, मातृभूमिसँग भावनात्मक तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने र समृद्ध नेपालको साझा सपना साकार पार्ने उद्देश्यले स्थापना भएको एनआरएन पछिल्ला वर्षहरूमा मूल लक्ष्यबाट केही हदसम्म विचलित देखिएको छ। “उद्देश्यभन्दा पद, सेवाभन्दा स्वार्थ र अभियानभन्दा गुट हाबी हुँदा संस्थाको साख र विश्वसनीयतामा असर परेको छ,” उनले भने। यसको प्रत्यक्ष प्रभाव विशेषगरी युवापुस्तामा परेको उल्लेख गर्दै उनले निस्वार्थ भावनाले अभियानमा जोडिएका युवाहरूमा निराशा बढेको बताएका छन्।
एकताको महाधिवेशन नजिकिँदै गर्दा पनि विभाजित एनसीसीहरूको समायोजन, डेलिगेट प्रमाणीकरण तथा विधानअनुसारका आधारभूत प्रक्रिया अपूर्ण रहनु संस्थाका लागि गम्भीर चुनौती बनेको उनको भनाइ छ। विशेषतः मध्यपूर्व क्षेत्रको जटिल अवस्था र हवाई सेवा अवरोधका कारण त्यहाँका प्रतिनिधिहरूको सहभागिता अनिश्चित रहनुले सीमित छलफलबाट “एकता” सम्भव नहुने स्पष्ट संकेत गरेको उनले औंल्याए।
यही सन्दर्भमा, रेग्मीले आगामी अक्टोबरमा सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार उक्त सम्मेलन केवल नेतृत्व चयनको मिति तोक्ने उद्देश्यले नभई, नेतृत्व चयनपूर्व पूरा गर्नुपर्ने सबै आवश्यक प्रक्रिया—विधान संशोधन, डेलिगेट प्रमाणीकरण, विभाजित संरचनाको समायोजन तथा दीर्घकालीन कार्यदिशा तय गर्ने—कामलाई सबै पक्षको सहभागितामा संस्थागत रूपमा अघि बढाउने लक्ष्यसहित हुनुपर्छ।
उनले जोड दिए—“दीर्घकालीन एकता हतारको निर्णयबाट होइन, विश्वास, संवाद र सहमतिबाट निर्माण हुन्छ।” यदि सर्वसम्मत नेतृत्व चयन सम्भव नभएमा बन्दसत्रपछि मात्र पारदर्शी प्रक्रियाबाट उम्मेदवारी घोषणा गर्ने व्यवस्था गरी भविष्यमा पुनः कानुनी विवाद नदोहोऱ्याउने स्पष्ट सहमति आवश्यक रहेको उनले बताए।
“आज लिइने निर्णयले केवल नेतृत्व चयन होइन, एनआरएन अभियानको अस्तित्व, विश्वसनीयता र आगामी पुस्ताप्रतिको जिम्मेवारी निर्धारण गर्नेछ,” रेग्मीको भनाइ छ। उनका अनुसार, एकता सीमित समूहको निर्णयबाट होइन, सबैको सहभागिता, सम्मान र समावेशिताबाट मात्र सम्भव छ।
अन्त्यमा उनले स्पष्ट सन्देश दिएका छन्—पुरानो सोच, पुरानो शैली र अहंकारले संस्थालाई अघि बढाउन सक्दैन। पदको होइन उद्देश्यको राजनीति, गुट जिताउने होइन संस्था जिताउने नेतृत्व नै आजको आवश्यकता हो। “एकता बचाऔं, अभियान सुदृढ बनाऔं,” भन्ने सन्देशसहित उनले सबै अभियन्तालाई साझा जिम्मेवारी बोध गर्न आह्वान गरेका छन्।