“तराईमा हामी दुई दाजुभाइ” — रास्वपा नेता बब्लु गुप्ताको सन्देश, गृहमन्त्री सुधन गुरुङसँग मिलेर शान्तिको पहल
रास्वपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले “तराईमा हामी दुई दाजुभाइ” भन्दै गृहमन्त्री सुधन गुरुङसँगको तस्बिर सार्वजनिक गर्नुभएको छ। दुवै नेता अहिले तराईमै रहेर स्थानीय समुदायसँग संवाद, विश्वास पुनःस्थापना र शान्ति कायम गर्ने प्रयासमा सक्रिय छन्। पछिल्ला पहल र भेटघाटसँगै तनावग्रस्त बनेको क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको र शान्तिपूर्ण वातावरणतर्फ अघि बढिरहेको संकेत देखिएको छ।
यसैबीच, देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत सम्बन्धमा आवश्यक छानबिन तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएको छ। साथै, प्रत्येक मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएको छ। सम्झौतापत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतक परिवारका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि गृहमन्त्री सुधन गुरुङ स्वास्थ्यमन्त्री निशा मेहतासँगै सुनसरी घटनामा घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न विराटनगरस्थित प्राइम अस्पताल तथा विराट नर्सिङ अस्पताल पुग्नुभएको छ। उहाँहरूले उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। सरकारले सम्झौताका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ भने पीडित परिवारले पनि सरकारले गरेका प्रतिबद्धता समयमै पूरा हुने विश्वास व्यक्त गरेका छन्।