खैराल, कैलाली – कैलालीको चुरे–४ खैरालामा रहेको ऐतिहासिक राणाकालीन गर्भा दरबार केवल धरोहर मात्र होइन, प्रकृतिको अनुपम सौन्दर्यले भरिएको गाउँको केन्द्रबिन्दु हो। दशकौँदेखि विकासको पर्खाइमा रहेको यस क्षेत्रलाई आगामी निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले नयाँ सम्भावना र विकासको ढोका खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चुरे गाउँपालिका–४ पुगेर मतदातासँग भेटघाट र भलाकुसारी गरेका बिष्टलाई स्थानीय नेता, कार्यकर्ता र जनताले मौलिक बाजागाजासहित आत्मीयतापूर्ण स्वागत गरे। उनका अनुसार, त्यो स्वागत केवल उम्मेदवारप्रतिको सम्मान मात्र नभई दशकौँदेखि बाटो, शिक्षा, स्वास्थ्य र अवसरको प्रतीक्षामा बसेका जनताको आशा पनि थियो।
दरबार परिसरमा भाषण गर्दै बिष्टले भने,
“उच्च गर्मी हुने कैलालीमा यति शीतल, प्राकृतिक हिसाबले यति मनमोहक र उत्पादनका दृष्टिले अमूल्य यो ठाउँलाई अब राज्यको मूलधारसँग जोड्न मेरो हर सम्भव प्रयास हुनेछ। यहाँका उत्पादनलाई बजारसँग जोड्ने, जनतालाई सडक मार्ग उपलब्ध गराउने, बिरामीलाई उपचारको ग्यारेन्टी दिने र नयाँ पुस्तालाई शिक्षाको पहुँच दिलाउने मेरो जिम्मेवारी हो।”
उनी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटन क्षेत्रमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे। प्रत्येक विद्यालयमा प्रविधियुक्त र प्राविधिक शिक्षाको पहुँच सुनिश्चित गर्ने, विपन्न परिवारकी छोरीलाई उच्च शिक्षामा प्रोत्साहन दिने, बालमैत्री तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक पार्क निर्माण गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक सामग्री र विशेषज्ञ चिकित्सक उपलब्ध गराउने योजना उनी प्रस्तुत छन्।
बिष्टले कृषि क्षेत्रमा मलखाद र बीउविजनको समयमै व्यवस्था, सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि प्रणालीको प्रवर्द्धन र कृषि उत्पादनको सहज बजार तथा उचित मूल्य सुनिश्चित गर्ने वचन पनि दिए।
इतिहास र आस्थाको पर्यटन प्रवर्द्धनमा पनि बिष्टले गर्भा दरबारलाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिवद्धता जनाए। उनले गौरीगंगाको मोहन्याल मन्दिरसँग धार्मिक सर्किट निर्माण गर्ने पहल गर्ने बताए। चाैमालाबाट गर्भा दरबार जोड्ने छोटो मार्गलाई उनी ‘संभावनाको ढोका’ र ‘इतिहासलाई वर्तमानसँग जोड्ने बाटो’ भनि उल्लेख गरे।
उम्मेदवार बिष्टको यो कदमले कैलाली–४ क्षेत्रका जनतामा विकास र समृद्धिको नयाँ आशा जगाएको देखिन्छ।