एनआरएनएमा ५१ सदस्यीय नयाँ टिम घोषणा, दर्जनौं पदाधिकारी मनोनयन

theoutsidenepal.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशन सम्पन्न भएको केही महिनापछि सन् २०२५–२०२७ कार्यकालका लागि पदाधिकारी, केन्द्रीय सदस्य तथा सल्लाहकारहरूको व्यापक मनोनयन गरेको छ।

संघका महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी आन्तरिक परिपत्रअनुसार संशोधित विधानबमोजिम कार्यसमितिलाई थप विस्तार गर्दै ५१ सदस्यीय केन्द्रीय संरचना र ५१ सदस्यीय सल्लाहकार समूह गठन गरिएको हो।

नयाँ मनोनयनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, क्यानडा, कतार, जर्मनी, बेल्जियम, दक्षिण कोरिया, यूएई, पोर्चुगल, स्पेन, डेनमार्क, चीन, रूस, इजरायल, न्यूजिल्याण्ड, मलेसिया, अफ्रिकी राष्ट्रहरू लगायत विश्वका विभिन्न देशबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

संघले उपमहासचिव, सचिव, सह–कोषाध्यक्ष, क्षेत्रीय तथा उप–क्षेत्रीय संयोजक, महिला तथा युवा संयोजक, विज्ञ समूहका सदस्य र आईसीसी सदस्यहरू समेत मनोनयन गरेको जनाएको छ। यस विस्तारले एनआरएनएलाई विश्वभरका नेपाली समुदायसँग अझ प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ।

एनआरएनए नेतृत्वका अनुसार नयाँ संरचनाले संगठनलाई समावेशी, प्रतिनिधिमूलक र प्रभावकारी बनाउँदै आगामी कार्यकालमा प्रवासी नेपालीका हकहित, लगानी प्रवर्द्धन, नागरिकता, सीप, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया