कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रहरी देशभर पहिलो
द टन न्युज । धनगढी ।
प्रहरी प्रधान कार्यालयले भदौ महिनामा गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले कुल ३८६ पूर्णाङ्कमध्ये ३३९.९८ अंक प्राप्त गर्दै देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट स्थान हासिल गरेको छ।
मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दोस्रो स्थानमा परेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व डीआईजी सानुराम भट्टराईले गरिरहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादनका विभिन्न सूचकमा प्रभावकारी उपलब्धि हासिल गर्दै उच्च अंक प्राप्त गरेको हो। प्रहरी संगठनभित्र कार्यसम्पादन, अपराध नियन्त्रण, अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा संगठनात्मक गतिविधिलगायतका आधारमा हुने मासिक मूल्यांकनलाई प्रहरी कार्यालयहरूको कार्यक्षमता मापन गर्ने महत्वपूर्ण आधारका रूपमा लिइन्छ।
प्रदेश तालिम केन्द्र दिपायल पनि पहिलो
कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमको प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल तालिम केन्द्रतर्फ पहिलो स्थानमा आएको छ। त्यसैगरी ट्राफिक प्रहरी कार्यालय, अत्तरिया तेस्रो स्थानमा परेको छ।
हिमाली जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। अघिल्लो महिनामा समेत पहिलो बनेको बझाङ यसपटक पनि पहिलो स्थानमा रहँदै आफ्नो रेकर्ड कायम राख्न सफल भएको छ। दार्चुला दोस्रो र बाजुरा चौथो स्थानमा छन्।
तराईका जिल्लातर्फ ‘क’ वर्गमा जिल्ला प्रहरी कार्यालय कैलाली पाँचौँ स्थानमा रहँदा ‘ख’ वर्गमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर दोस्रो स्थानमा रहेको छ।
पहाडी जिल्लातर्फ अछाम पाँचौँ, डडेल्धुरा १४औँ र बैतडी २१औँ स्थानमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटी नवौँ स्थानमा परेको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई नियमित रूपमा मूल्यांकन गर्दै हरेक महिना कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। पछिल्लो मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले देशभरमै पहिलो स्थान हासिल गरेसँगै प्रदेश प्रहरी नेतृत्व तथा मातहतका प्रहरी कार्यालयहरूको कार्यसम्पादन थप चर्चामा आएको छ।