काठमाडौँ — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका बोर्ड अफ डायरेक्टर बाबुराम काफ्लेलाई अमर मावि पूर्व विद्यार्थी समाजले सम्मान गरेको छ।
सम्मानपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काफ्लेले उक्त कार्यक्रमले आफूमा थप जिम्मेवारीबोध गराएको बताएका छन्। उनले यो सम्मानलाई केवल व्यक्तिगत उपलब्धि नभई सबैको खुसी, गौरव र उत्साहको प्रतीकका रूपमा लिएको उल्लेख गरेका छन्।
“यो सम्मानले मलाई थप जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यप्रति अझ सचेत बनाएको छ,” काफ्लेले भनेका छन्। उनले यसलाई सकारात्मक उत्प्रेरणा र प्रगतिशील ऊर्जाका रूपमा ग्रहण गरेको पनि स्पष्ट पारे।
काफ्लेले पूर्व विद्यार्थी समाज परिवार, विद्यालय परिवार, अग्रज–अनुज तथा सम्बद्ध सबैप्रति आभार व्यक्त गर्दै आफू सधैं उनीहरूको विश्वास र अपेक्षालाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
अमर मावि पूर्व विद्यार्थी समाजले आयोजना गरेको उक्त सम्मान कार्यक्रमलाई काफ्लेको योगदानप्रति कदर र प्रेरणादायी कदमका रूपमा लिइएको छ।