निर्यात उद्योगका समस्या समाधानमा सरकार प्रतिबद्ध, उद्यमीका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन

theoutsidenepal.com

निर्यात उद्योगका समस्या समाधानमा सरकार प्रतिबद्ध, उद्यमीका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन

काठमाडौं, ९ साउन। प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योग–व्यवसायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित झण्डै दुई घण्टा लामो छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसँग निर्यात क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष वलराम गुरुङ ले अमेरिकाले जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेपछि नेपालमा परीक्षण सुविधा नहुँदा गलैंचा निर्यात प्रभावित भएको जानकारी गराउँदै एक वर्षको ‘ग्रेस पिरियड’का लागि कूटनीतिक पहल गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले उक्त माग कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयलाई तत्काल आवश्यक पहल गर्न निर्देशन दिनुभयो।

गलैंचा उत्पादनका लागि आवश्यक ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ ढिलो हुने समस्याबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले हाल महिनामा तीन पटक हुने प्रमाणीकरणलाई बढाएर हप्तामा दुई दिन सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। साथै गलैंचा विकास बोर्ड गठन तथा कर्णाली र सुदूरपश्चिममा भेडापालन प्रवर्द्धन गरी ऊन उत्पादन बढाउने विषयमा समेत सरकार सकारात्मक रहेको बताउनुभयो।

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे ले कच्चा पदार्थ (भेनियर) सस्तो भन्सारमा भारत निर्यात हुँदा स्वदेशी उद्योग प्रभावित भएको गुनासो गर्नुभएको थियो। प्रधानमन्त्री शाहले कच्चा पदार्थको अनियन्त्रित निर्यात रोक्न भन्सार शुल्क पुनरावलोकन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने ले वन ऐनका कारण चरन क्षेत्रमा भेडापालनमा समस्या भएको तथा ऊन संकलन र प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रधानमन्त्री शाहले आवश्यक कानुनी सुधार र पूर्वाधार विकासमा सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयो।

नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल ले डग च्यु उद्योगलाई ‘पेट फुड’ उद्योगका रूपमा मान्यता दिन र स्किम्ड मिल्क पाउडर आयातमा सहजीकरण गर्न आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री शाहले उक्त विषय अध्ययन गरी उपयुक्त निर्णय गरिने आश्वासन दिनुभयो।

प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले उद्यमीका व्यावहारिक समस्या समाधान गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउने दिशामा सरकार सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया