एनआरएनए दिवसमा आर. के. शर्माको आह्वान : ‘विभाजन होइन, एकता र समृद्ध नेपाल हाम्रो साझा सपना’

theoutsidenepal.com

एनआरएनए दिवसमा आर. के. शर्माको आह्वान : ‘विभाजन होइन, एकता र समृद्ध नेपाल हाम्रो साझा सपना’

द टन न्युज । काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आर. के. शर्माले गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध बनाउँदै मातृभूमि नेपालको समृद्धिका लागि सामूहिक रूपमा अघि बढ्न आह्वान गरेका छन्।

२३औँ गैरआवासीय नेपाली दिवस (एनआरएनए दिवस) का अवसरमा शुभकामना व्यक्त गर्दै शर्माले गैरआवासीय नेपाली संघ एउटा संस्था मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरूको भावना, पहिचान र मातृभूमिप्रतिको प्रेमको साझा चौतारी भएको बताएका छन्।

उनले विदेशमा रहेका नेपालीको सुखदुःखमा साथ दिने, उनीहरूको हकहितको आवाज उठाउने र नेपालको समृद्धिमा योगदान पुर्‍याउने साझा अभियानका रूपमा एनआरएनएलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

‘आज हामीलाई विभाजन होइन, एकता चाहिएको छ’

शर्माले एनआरएनए अभियानमा एकता, आपसी विश्वास र मातृभूमिप्रतिको समर्पणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। विगतका असहमतिहरूलाई बिर्सेर सम्पूर्ण अभियन्ता, पूर्वअध्यक्ष, पदाधिकारी तथा शुभचिन्तकहरू एउटै मञ्चमा उभिनुपर्ने उनको भनाइ छ।

“व्यक्ति आउँछन्, जान्छन्; पद रहँदैन, तर संस्था र यसको इतिहास रहिरहन्छ,” भन्दै उनले व्यक्तिभन्दा संस्था र संस्थाभन्दा राष्ट्रलाई माथि राख्न सबैलाई आग्रह गरेका छन्।

प्रवासी नेपालीको ज्ञान, सीप र पुँजी नेपालसँग जोड्नुपर्ने

पूर्वअध्यक्ष शर्माले विदेशमा रहेका नेपालीको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु एनआरएनएको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, लगानीको सुरक्षा तथा लगानीमैत्री वातावरण निर्माणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

त्यसैगरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्नुपर्नेमा उनले जोड दिएका छन्। नयाँ पुस्तालाई समेत मातृभूमिसँग भावनात्मक र सिर्जनात्मक रूपमा जोड्दै राष्ट्र निर्माणमा सहभागी गराउनुपर्ने उनको धारणा छ।

“हामीले विदेशमा कमाएको सफलता त्यतिबेला सार्थक हुन्छ, जब त्यसको केही उज्यालो हाम्रो मातृभूमिमा पनि पुग्छ,” शर्माले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

टुटेको विश्वास फर्काउन एकताको अपिल

एनआरएनए अभियानलाई पुनः एकताको साझा चौतारी बनाउन टाढिएका मनहरू जोड्ने, आपसी विश्वास फर्काउने र साझा उद्देश्यका साथ अघि बढ्ने समय आएको शर्माले बताएका छन्।

उनले गैरआवासीय नेपाली दिवसले विश्वभर रहेका नेपालीहरूको मनमा मातृभूमिप्रतिको प्रेम अझ गहिरो बनाउँदै एकताबद्ध भएर राष्ट्र निर्माणमा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

“हाम्रो एकता नै हाम्रो शक्ति हो। नेपालीको सम्मान हाम्रो दायित्व हो र समृद्ध नेपाल हाम्रो साझा सपना हो,” भन्दै पूर्वअध्यक्ष शर्माले विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा गैरआवासीय नेपाली दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया