अखण्डदीप प्रज्वलनको २०० दिन पूरा, मेलौली–२ गेरडामा महाशिवरात्रीको तयारी तीव्र

theoutsidenepal.com

बैतडी ।नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पहाडी जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नं. २ गेरडा स्थित धार्मिक धाममा प्रज्वलित अखण्डदीपले २०० दिन पूरा गरेको छ।


गत श्रावण १ गतेको सक्रान्तीदेखि निरन्तर प्रज्वलित अखण्डदीपले क्षेत्रको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको स्थानीय भक्तजनहरूको भनाइ छ। अखण्डदीप प्रज्वलनसँगै यहाँ नियमित रूपमा पूजा–अर्चना, भजन–कीर्तन तथा विभिन्न धार्मिक अनुष्ठान हुँदै आएका छन्।


अखण्डदीपको २०० दिन पूरा भएसँगै अब फागुन ३ गते मनाइने महाशिवरात्री पर्वको तयारीलाई तीव्र बनाइएको छ। महाशिवरात्रीको अवसरमा विशेष पूजा, शिवलिङ्ग अभिषेक, रात्रिकालीन जाग्राम तथा भक्तजनहरूको व्यापक सहभागितामा धार्मिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ।


स्थानीयवासीका अनुसार यस धामले पछिल्लो समय धार्मिक पर्यटनको सम्भावना समेत बोकेको छ। महाशिवरात्रीका अवसरमा छिमेकी गाउँहरू तथा विभिन्न स्थानबाट भक्तजनहरूको उल्लेखनीय आगमन हुने अपेक्षा गरिएको छ।


धार्मिक आस्था, सामाजिक एकता र शिवभक्तिको प्रतीक बनेको यस धाममा अखण्डदीप निरन्तर प्रज्वलित रहोस् भन्ने कामना गर्दै भक्तजनहरूले “जय शम्भो, हर हर महादेव” को उद्घोष गरिरहेका छन्। 


प्रतिक्रिया