कांग्रेस एकताबद्ध भएर १५औँ महाधिवेशन सफल बनाउनुपर्छ : युवा नेता रबिन्द्र शाही ‘गुड्डु’

theoutsidenepal.com

कांग्रेस एकताबद्ध भएर १५औँ महाधिवेशन सफल बनाउनुपर्छ : युवा नेता रबिन्द्र शाही ‘गुड्डु’

द टन न्युज । कैलाली ।

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा गोदावरी नगरपालिका–१० का वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र नयाँ राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसको स्थानीय तहको क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भई प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। पार्टीको संगठन निर्माण, जनतासँगको प्रत्यक्ष सम्बन्ध र युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै आएका शाही पछिल्लो समय कैलाली कांग्रेसभित्र सक्रिय युवा नेतृत्वका रूपमा परिचित छन्।


नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म सम्पन्न हुने कार्यक्रमलाई लक्षित गर्दै नेता शाहीले देशभरका कांग्रेसजनलाई आपसी मतभेद र व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टीको बृहत्तर हितमा एकजुट हुन विशेष अपील गरेका छन्।

उनले भनेका छन्, “आजको आवश्यकता कांग्रेसभित्र एकता हो। विचारमा बहस हुन सक्छ, नेतृत्वका विषयमा प्रतिस्पर्धा हुन सक्छ, तर पार्टीको मूल उद्देश्य र संगठनको हितमा हामी सबै एक ठाउँमा उभिनुपर्छ।”

शाहीका अनुसार कांग्रेसको वास्तविक शक्ति कुनै एक व्यक्ति वा समूहमा नभई देशभरका लाखौँ कांग्रेस कार्यकर्ता, शुभेच्छुक र जनतासँग जोडिएको संगठनात्मक संरचनामा रहेको छ। त्यसैले वडा तहदेखि प्रदेश हुँदै केन्द्रीय तहसम्मको अधिवेशनलाई लोकतान्त्रिक, व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नु सबै कांग्रेसजनको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

उनले वडा तहमा रहेका क्रियाशील नेता–कार्यकर्तादेखि क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला तथा प्रदेश नेतृत्व र केन्द्रीय तहका नेतासम्म सबैलाई महाधिवेशन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

“कांग्रेस बलियो भयो भने लोकतान्त्रिक व्यवस्था बलियो हुन्छ। कांग्रेसभित्रको एकता, अनुशासन र संगठनात्मक सुदृढीकरण आजको आवश्यकता हो। त्यसैले व्यक्तिगत जित–हारभन्दा पार्टीको जितलाई प्राथमिकता दिऔँ,” शाहीको अपील छ।

उनले नयाँ पुस्तालाई कांग्रेसको नेतृत्व र संगठन निर्माणमा अर्थपूर्ण रूपमा जोड्नुपर्नेमा पनि जोड दिएका छन्। युवाको ऊर्जा, अग्रजको अनुभव र कार्यकर्ताको संगठनात्मक क्षमतालाई एकीकृत गर्न सके नेपाली कांग्रेस अझ प्रभावकारी र जनमुखी शक्तिका रूपमा अघि बढ्न सक्ने उनको विश्वास छ।

कैलालीको स्थानीय राजनीतिमा जनप्रतिनिधिका रूपमा समेत सक्रिय रहेका शाहीले १५औँ महाधिवेशनलाई कांग्रेसभित्र नयाँ ऊर्जा, नयाँ सोच र संगठनात्मक एकताको आधार बनाउने अवसरका रूपमा उपयोग गर्न देशभरका कांग्रेसजनलाई आग्रह गरेका छन्।

उनको विशेष अपील छ—“वडा–वडामा कांग्रेस एक बनाऔँ, प्रदेश–प्रदेशमा कांग्रेस बलियो बनाऔँ र केन्द्रसम्म एकताको सन्देश पुर्‍याऔँ। आपसी सम्मान, सहकार्य र लोकतान्त्रिक अभ्यासमार्फत नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाऔँ।”

रबिन्द्र शाही ‘गुड्डु’को सन्देश

“व्यक्ति होइन, पार्टी बलियो बनाऔँ। गुट होइन, संगठन बलियो बनाऔँ। मतभेदलाई बहसमा सीमित गरौँ, मनभेदलाई अन्त्य गरौँ। एकताबद्ध कांग्रेस नै आजको आवश्यकता हो।”

द टन न्युज — Accuracy, Balance and Credibility
www.thetonnews.com


प्रतिक्रिया