कांग्रेसको १५औँ महाधिवेशन : जगदीश्व नरसिंह केसीद्वारा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसका नेता जगदीश्व नरसिंह केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। केसीले खसआर्य क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला केसीले सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएका हुन्।
कांग्रेस संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका केसीले पार्टीभित्रको विकृति, विसंगति, अनियमितता र मनपरीतन्त्र अन्त्य गर्दै संगठनलाई शुद्धीकरण र सुदृढीकरण गर्ने विषयलाई आफ्नो उम्मेदवारीसँग जोड्दै आएका छन्।
यसअघि केसीले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको समाचारसमेत सार्वजनिक भएको थियो। पछिल्लो उम्मेदवारी दर्तासँगै उनी खसआर्यतर्फबाट सहमहामन्त्री पदको प्रतिस्पर्धामा उत्रिएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्रीका विभिन्न समावेशी क्लस्टरमा उम्मेदवारी दर्ता भएको छ। कांग्रेसको निर्वाचन प्रक्रियाअनुसार सहमहामन्त्रीका विभिन्न पदमा प्रतिस्पर्धा हुँदैछ।
जगदीश्व नरसिंह केसीको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा खसआर्य क्लस्टरतर्फको नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।