काठमाडौँ — नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि प्रस्तावित ८ बुँदे एजेन्डामाथि प्रश्न उठाउँदै ती बुँदामध्ये कुन बुँदा पार्टी र देशको अहितमा थियो भनी सार्वजनिक रूपमा चुनौती दिनुभएको छ।
सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै शर्माले आज बिहान सहमतिका लागि अघि सारिएका प्रस्तावहरू पुनः मुस्कुराउँदै पढेको उल्लेख गर्नुभयो। उहाँका अनुसार ती बुँदाहरू पार्टी एकता, लोकतान्त्रिक अभ्यास र भावी राजनीतिक दिशाका लागि सकारात्मक थिए।
उक्त प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, परिमार्जनसहित पारित प्रस्ताव कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका नखेल्ने, उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एकढिक्का भएर जाने, गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्ने, प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मैदानमा जाने तथा यी सबै कार्यको समन्वयका लागि पाँच सदस्यीय संरचना गठन गर्ने विषय समेटिएका थिए।
शर्माले आफ्नो प्रतिक्रिया दिँदै लेख्नुभएको छ, “काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ।” उहाँले विधानअनुसारको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व दिने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसभित्र चर्कँदो विवादका बीच विश्वप्रकाश शर्माको यो अभिव्यक्तिलाई पार्टीभित्र सुधार, पारदर्शिता र नेतृत्व परिवर्तनको मागसँग जोडेर हेरिएको छ। उहाँको धारणा सार्वजनिक भएपछि कांग्रेसभित्रको बहस अझ तीव्र हुने देखिएको छ।