काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई उम्मेदवारको टिकट दिएपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ। यही सन्दर्भमा राप्रपाका युवा नेता हिक्मत जंग कार्कीले पार्टी परित्यागको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै कार्कीले आफू राप्रपाको केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय विभागको सदस्य तथा साधारण सदस्य समेत नरहने गरी पार्टी छोड्ने निर्णय गरेको स्पष्ट पारेका छन्। उनले आफ्नो निर्णयलाई चुनाव त्यागको रूपमा नभई युवालाई नेतृत्वमा अघि बढाउने पक्षमा लिइएको राजनीतिक कदमको रूपमा व्याख्या गरेका छन्।
कार्कीले आफ्नो स्टाटसमा विक्रम पाण्डेको अभिव्यक्ति उद्धृत गर्दै लेखेका छन्,“मैले चुनाव त्यागेको होइन, युवालाई नेतृत्वमा अघि बढाउने निर्णय गरेको हुँ।”
उनले Gen Z को भावना उल्लेख गर्दै ३४ वर्षको युवालाई पन्छाएर ७२ वर्षका कमल थापालाई अघि सारिएको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। यद्यपि, उनले युवालाई अघि बढाउने निर्णय लिएको भन्दै विक्रम पाण्डेप्रति सम्मान र प्रशंसा व्यक्त गरेका छन्।
हिक्मत कार्कीको यो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा समेत प्रतिक्रिया आउन थालेको छ। लोकप्रिय नायिका रेखा थापाले पनि कार्कीको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्।
रेखा थापाले लेखेकी छन्,“भाइ हिक्मत, तिमी जस्तो गतिशील र ऊर्जावान् युवा नेताले आजको दिनमा बलिको बोका बन्नुपर्यो। मैले त पहिल्यैदेखि ठगलाई चिनेको भएर चुपचाप बसेको हुँ। तिमी जस्तो प्रखर युवाको यस देशलाई खाँचो छ। तिम्रो आगामी राजनीतिक भविष्यको हार्दिक शुभकामना, प्यारो भाइ। हामी तिम्रो साथमा छौँ।”
युवा नेतृत्वलाई अवसर नदिइएको आरोपसहित आएको हिक्मत कार्कीको पार्टी परित्याग र त्यसमा सार्वजनिक व्यक्तित्वहरूको समर्थनले राप्रपाभित्रको आन्तरिक असन्तुष्टि थप सतहमा आएको विश्लेषकहरूको टिप्पणी छ।