अर्थमन्त्री स्वर्णिम वाग्लेसँग निजी क्षेत्रको भेट: लगानीमैत्री वातावरण निर्माणमा सहकार्यको जोड शासकीय सुधारका १०० कार्यसूचीमा निजी क्षेत्रका प्राथमिकता समावेश भएकोमा कृतज्ञता

theoutsidenepal.com

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग शिष्टाचार भेट गरेको छ।


भेटका क्रममा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा निजी क्षेत्रका प्राथमिकताहरू समावेश गरिएकोमा महासंघका तर्फबाट मन्त्री वाग्ले तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।


महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले मन्त्री वाग्लेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, उत्पादन अभिवृद्धि, राजस्व संकलन सुदृढीकरण तथा रोजगारी सिर्जना विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाउन आग्रह गरेका छन्।


भेटमा विद्यमान कानुनी तथा नीतिगत अवरोधहरू हटाउँदै उत्पादन तथा सेवा प्रवाहलाई गतिशील बनाउने विषयमा सरकार–निजी क्षेत्र सहकार्यको महत्वमा विशेष जोड दिइएको थियो। साथै, शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको प्रभावकारी र समयोचित कार्यान्वयन अपरिहार्य रहेको विषयमा ध्यानाकर्षण गराइएको छ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिगो आर्थिक वृद्धि र लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


महासंघले पनि नेपाल सरकारसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण सुदृढ गर्न, व्यवसाय प्रवर्द्धन गर्न तथा राष्ट्रलाई समृद्धिको दिशातर्फ अघि बढाउन पूर्ण प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया