काठमाडौं — काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
पाण्डेका अनुसार माघ ३ गतेसम्म उनी पदमा बहाल रहनेछन्।“माघ ४ गतेदेखि लागू हुने गरी मैले राजीनामा दिएको हुँ,” पाण्डेले बताए।
राजीनामाको घोषणा गर्ने क्रममा उनी भावुक बन्दै भक्कानिएका थिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो जीवनको प्रेरणाको प्रमुख स्रोत मान्ने बताएका छन्।
“बालेन शाहले देखाउनुभएको निडरता, इमानदारी र परिणाममुखी नेतृत्वले मलाई गहिरो रूपमा प्रभावित बनाएको छ। अब बाँकी जीवन सत्कर्म, सेवा र सकारात्मक परिवर्तनका लागि समर्पित गर्ने निर्णय गरेको छु,” उनले भने।
पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीका साथ सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका छन्। यसैक्रममा उनी बालेन शाह सक्रिय रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै आबद्ध हुने तयारीमा रहेको स्रोतको भनाइ छ।
महानगर प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा पाण्डेले अनुशासन, व्यवस्थापन र कानुन कार्यान्वयनमा कडा छवि बनाएका थिए। उनको राजीनामालाई धेरैले प्रशासनबाट राजनीतिमा प्रवेश गर्ने साहसी र स्पष्ट कदम का रूपमा लिएका छन्।
राजनीतिप्रति जनविश्वास घट्दै गएको सन्दर्भमा इमानदारी, कर्म र मूल्यमा आधारित राजनीतिमा जाने उनको घोषणाले युवापुस्तामा सकारात्मक सन्देश दिने विश्लेषकहरूको धारणा छ।