बुढीगण्डकी नदीमा भीषण बाढी, गोरखाको सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठूलो क्षति
द टन न्युज । गोरखा
बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ।
स्थानीय विशाल घलेले दिएको जानकारीअनुसार नदीमा आएको भीषण बाढीले सल्लेरी बजारमा ठूलो क्षति पुर्याएको हो। बाढीका कारण जगत बजारसमेत प्रभावित भएको छ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव असामान्य रूपमा बढेको थियो। बुढीगण्डकीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका बस्तीमा जोखिम बढेको छ।
बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको भन्दै सापकोटाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र तत्काल सुरक्षित एवं उच्च स्थानमा जान स्थानीयवासीलाई आग्रह गरेका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन, नदी किनारबाट टाढा बस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
— द टन न्युज