काठमाडौं । कोरिया–नेपाल इन्टरनेसनल एक्सचेन्जको सक्रियतामा नेपाल–कोरिया सम्बन्ध नयाँ उचाइमा पुगेको छ। संस्थाका अध्यक्ष सृजना नेपालीको नेतृत्वमा विकास सहकार्य, लगानी प्रवर्द्धन, पर्यटन तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा उल्लेखनीय र प्रभावकारी पहलहरू अघि बढिरहेका छन्। कोरियन राष्ट्रपतिदेखि कोरियन रेलवे विभागसम्मको सशक्त नेटवर्कमार्फत नेपालका लागि अवसरको ढोका खोल्ने कार्य भइरहेको बताइएको छ।
संस्थाले कोरियामा रहेको नेपाली दूतावासको समन्वयमा बुसानमा भव्य ट्रेड तथा लगानी सम्मेलन आयोजना गरी नेपाल–कोरिया सम्बन्धमा ऐतिहासिक अध्याय थपेको थियो। नेपाल–कोरियाबीच पहिलोपटक सम्पन्न उक्त सम्मेलनले कोरियन लगानीकर्ताहरूलाई नेपालसँग प्रत्यक्ष जोड्ने र आर्थिक सहकार्य विस्तार गर्ने आधार तयार गरेको थियो।
कोरिया–नेपाल इन्टरनेसनल एक्सचेन्जले नेपालको पर्यटन र सांस्कृतिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोरियन राजदूतावासको समन्वयमा विश्वकै तीव्र गतिका रेलमध्ये एक केटीएक्स (KTX) मा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो प्रसारण गरिनु नेपालको अन्तर्राष्ट्रिय छवि उजागर गर्ने महत्वपूर्ण उपलब्धि बनेको छ।
त्यसैगरी, कोरियन रेल्ससँगको सहकार्यमा अध्यक्षसहितको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी पूर्वाधार विकासका सम्भावनाबारे गहन छलफल गरेको थियो। यसले नेपाल–कोरिया विकास सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
संस्थाले चित्रकला परिषद् नेपालसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका विभिन्न परियोजनाहरूमा लगानी र कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष सृजना नेपाली लामो समयदेखि कोरियामा बसोबास गर्दै नेपालको विकास र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानमा निरन्तर सक्रिय रहनुभएको छ।
उहाँ भिसा बुसान विश्वविद्यालयमा स्पेसल प्रोफेसरका रूपमा कार्यरत हुनुका साथै आफ्नै कोरियन कसमेटिक कम्पनी, एजुकेसन सेन्टर र स्किन क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ।
उहाँको अन्तर्राष्ट्रिय पहुँच, अनुभव र सशक्त नेटवर्कले भविष्यमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको विकास, लगानी विस्तार र पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ।