चितवन — आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा मिना खरेल, नेपाली कांग्रेसकी उम्मेदवार, चितवन निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो अभियान तीव्र बनाउँदै हुनुहुन्छ।
उहाँले कालिका नगरपालिकामा सम्पन्न घरदैलो कार्यक्रमको अनुभव साझा गर्दै भन्नुभयो, “हामी इच्छाकामनामा रह्यौँ। घरदैलो गर्दा मतदाता र जनसमुदायले गरेको स्वागत यस्तो भयो कि मैले मत मागिराखेको छु कि विजय भइसकेको उत्सव मनाइरहेकी छु जस्तो महसुस भइरहेको छ। उनीहरूले स्वस्फूर्त रूपमा बाटोमा आएर फूलमाला र खादाले स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। नैतिक रूपमा विजय भइसकेको महसुस भएको छ, तर प्राविधिक विजयका लागि फागुन २१ कुर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। यसले मलाई अझ उत्साहित र प्रेरित बनाएको छ।”
मिना खरेलले मतदाता आधारबारे पनि आफ्नो दृष्टिकोण व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यहाँको कुल जनसंख्याको आधाभन्दा बढी महिला हुनुहुन्छ। मतदाता पनि आधाभन्दा बढी महिला हुनुहुन्छ। महिलाहरूको उत्साहजनक सहभागिता छ। ००७ सालको क्रान्तिका बेला लडेका कांग्रेसका अग्रजहरू बाहिर निस्केर मार्गदर्शन दिनुभएको छ। नवजवान भाईबहिनीहरू पनि सक्रिय रूपमा उपस्थित छन्। यी सबै आधारहरूले निर्वाचनमा आवश्यक मतदाता सुनिश्चित गरेका छन्। मतदाता मात्र नभई आम समर्थन देख्दा म अत्यन्त उत्साहित छु।”
स्थानीय विश्लेषकहरूले मतदाता सहभागिता, महिला र युवा सहभागिता, साथै कांग्रेसका अग्रजको समर्थनलाई चितवन–२ मा मिना खरेलको विजय सुनिश्चित गर्ने मुख्य कारकका रूपमा हेरिरहेका छन्।