केएमसी दुवाकोटमा बिनाचिरफार प्रविधिबाट ब्रेन एभीएमको सफल उपचार, दोलखाका मनोज घिमिरेले पाए नयाँ जीवन
काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले मस्तिष्कमा रगत जम्ने तथा नसा असामान्य रूपमा जालो बन्ने जटिल रोग ब्रेन एभीएम (Brain AVM) को अत्याधुनिक बिनाचिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट सफल उपचार गरेको छ।
दोलखाका ४२ वर्षीय सवारी चालक मनोज घिमिरे लामो समयदेखि टाउकोको असह्य पीडा, मिर्गी (छारे) का समस्या तथा बेहोस हुने अवस्थाबाट पीडित थिए। विभिन्न अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उनी जिरी क्षेत्रबाट एम्बुलेन्समार्फत केएमसी दुवाकोट पुगेका थिए।
केएमसीमा न्यूरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल नेतृत्वको टोलीले परीक्षण गर्दा उनको मस्तिष्कको रक्तनली फुटेर रगतको जालो बनेको तथा ब्रेन एभीएम भएको पत्ता लागेको थियो।
डा. पौडेलको टोलीले खुट्टाको रक्तनलीबाट विशेष तार र क्याथेटर मस्तिष्कसम्म पुर्याएर ओनिक्स एम्बोलाइजेसन (Onyx Embolization) प्रविधिबाट उक्त जालोलाई पूर्ण रूपमा बन्द गरिदिएको अस्पतालले जनाएको छ। यो उपचारमा टाउको चिर्नु नपर्ने भएकाले बिरामीको जोखिम कम हुने र छिटो स्वास्थ्य लाभ हुने चिकित्सकहरूको भनाइ छ।
उपचारपछि मनोज घिमिरेले आफूले नयाँ जीवन पाएको अनुभूति सुनाउँदै डाक्टर तथा नर्सहरूको सेवा र व्यवहारको खुलेर प्रशंसा गरे। “अब म फेरि गाडी चलाएर परिवार पाल्न सक्छु,” उनले भावुक हुँदै बताए।
केएमसी दुवाकोटका अनुसार यो अस्पतालमा ब्रेन एभीएमको बिनाचिरफार अत्याधुनिक प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको पहिलो केस हो।
यस अस्पतालको सञ्चालन नेपाली कांग्रेसका नेता तथा समाजसेवी **सुनील शर्मा**ले गर्दै आएका छन्। उनी गम्भीर बिरामीको निःशुल्क उपचार, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेको उपचार सहयोग तथा एम्बुलेन्स हस्तान्तरणजस्ता सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।