१५औँ महाधिवेशनको सन्दर्भमा महिला स्वास्थ्य स्वयंसेविकाका माग उठाउँदै जानुका भण्डारी

theoutsidenepal.com

१५औँ महाधिवेशनको सन्दर्भमा महिला स्वास्थ्य स्वयंसेविकाका माग उठाउँदै जानुका भण्डारी

‘वर्षौं योगदान गरेका स्वास्थ्य स्वयंसेविकालाई राज्यले न्याय दिनुपर्छ’

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कांग्रेस नेतृ जानुका भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूका सेवा सुविधा वृद्धि तथा उनीहरूको योगदानको उचित मूल्यांकन गर्नुपर्ने मागलाई प्राथमिकताका साथ उठाएकी छन्।

समुदायस्तरमा वर्षौंदेखि निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले न्यून सेवा सुविधाका बाबजुद नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै भण्डारीले उनीहरूका जायज मागप्रति राज्य गम्भीर बन्नुपर्ने बताएकी हुन्।


महिला स्वास्थ्य स्वयंसेविकाहरूले खोप कार्यक्रम, गर्भवती तथा सुत्केरी महिलाको निगरानी, परिवार नियोजनसम्बन्धी सचेतना, बालबालिकाको स्वास्थ्य अनुगमन, पोषण, सरसफाइ तथा विभिन्न स्वास्थ्य अभियानमा अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका छन्।

तर जिम्मेवारी र योगदानको तुलनामा प्राप्त सेवा सुविधा न्यून रहेको भन्दै स्वयंसेविकाहरूले कार्यक्षेत्रमा खटिँदा प्राप्त हुने भत्तामा समयानुकूल वृद्धि गर्नुपर्ने माग अघि सारेका छन्। दैनिक खर्चसमेत धान्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै सरकारले तत्काल आवश्यक पुनरावलोकन गर्नुपर्ने भण्डारीको धारणा छ।

त्यसैगरी लामो समयसम्म सामाजिक सेवामा समर्पित भएर काम गरेका महिला स्वास्थ्य स्वयंसेविकाले सेवा छाड्ने समयमा उचित प्रोत्साहन तथा सम्मानजनक रकमको व्यवस्था गर्नुपर्ने मागसमेत भण्डारीले अघि सारेकी छन्।

भण्डारीले महामारी, खोप अभियान, सरसफाइ अभियान तथा विभिन्न स्वास्थ्य संकटका समयमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिकालाई राज्यले विशेष रूपमा मूल्यांकन गर्नुपर्ने बताएकी छन्।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य प्रणालीका महत्वपूर्ण आधार हुन्। वर्षौंसम्म समुदायको स्वास्थ्य सुरक्षामा योगदान गरेका उनीहरूको सेवा र समर्पणको राज्यले उचित मूल्यांकन गर्नुपर्छ,’ भण्डारीको धारणा छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीभित्र नयाँ विचार, जनसरोकार र सामाजिक मुद्दालाई थप प्राथमिकताका साथ उठाउने अवसरका रूपमा समेत हेरिएको सन्दर्भमा भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकाका समस्या र अधिकारका विषयलाई समेत गम्भीरतापूर्वक बहसमा ल्याउनुपर्नेमा जोड दिएकी छन्।

काठमाडौंमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले विभिन्न वडामा पुगेर आधारभूत स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। स्थानीय नागरिकको स्वास्थ्य सुधारमा उनीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

भण्डारीले स्वयंसेविकाहरूले पेश गरेको ज्ञापनपत्रप्रति स्थानीय सरकार सकारात्मक बन्नुपर्ने बताउँदै संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारले आवश्यक छलफल गरी उनीहरूका माग सम्बोधन गर्ने ठोस पहल गर्नुपर्ने आग्रह गरेकी छन्।

उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाको विषय कुनै एक व्यक्ति वा संस्थाको मात्र मुद्दा नभई समुदायको स्वास्थ्य, महिलाको सम्मान र राज्यको सामाजिक दायित्वसँग जोडिएको विषय हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै जनताका दैनिक जीवनसँग जोडिएका यस्ता विषयलाई पनि प्राथमिकतामा राखिनुपर्ने बताउँदै भण्डारीले वर्षौंसम्म निःस्वार्थ भावनाले सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले न्याय, सम्मान र उचित सुविधा दिनुपर्नेमा जोड दिएकी छन्।

द टन न्युज
विशेष रिपोर्ट


प्रतिक्रिया