कैलालीको चुरे क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ।
चुरे गाउँपालिका–५, खानीडाडा मा आयोजित विशेष कार्यक्रममार्फत एमालेका स्थानीय राजनीतिकर्मीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी रहेका छन्।
उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। स्वागतपछि बोल्दै उम्मेदवार बिष्टले चुरे क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
“चुरेको समग्र विकासका लागि सडक तथा सिँचाइ विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवा सुधारलाई विशेष प्राथमिकता दिइनेछ,” उनले भने, “जनताको चाहना विकास र सुशासन हो, र त्यसका लागि कांग्रेससँग स्पष्ट योजना र कार्यदिशा छ।”
नवप्रवेशीहरूले स्थानीय आवश्यकता, जनअपेक्षा र दीर्घकालीन विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक निर्णय लिएको बताएका छन्। कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले चुरे क्षेत्रको पूर्वाधार विकास, वन–पर्यावरण संरक्षण, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।
चुरे गाउँपालिका–५ मा एमालेका सक्रिय व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेसँगै क्षेत्रीय राजनीतिक माहोल थप तातेको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन समीकरणमा यस घटनाले महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।