झापा–५ मा यतिबेला यदि कुनै नाम तीव्र गतिमा चर्चामा छ भने त्यो हो — रञ्जीत तामाङ। राष्ट्रिय स्तरका चर्चित नेताहरू केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) को उपस्थितिबीच पनि रञ्जीत तामाङले आफ्नो अलग पहिचान स्थापित गरिरहेको उनका समर्थकहरू बताउँछन्।
समर्थकहरूको दाबी अनुसार जनयुद्धकालदेखि विद्यार्थी आन्दोलनसम्म सडक र संघर्षको मैदानमा खारिएका तामाङ आज झापा–५ का शक्तिशाली युवा नेताका रूपमा उभिएका छन्। युवाको सपना, श्रमिकको आवाज र आम नागरिकको आशालाई बोकेर उनी चुनावी मैदानमा होमिएको भनाइ छ।
“तारा, सबको साहारा” भन्ने नारासहित अघि बढिरहेका तामाङलाई स्थानीय तहमा विकास, रोजगारी र सुशासनको एजेन्डा जोडदार रूपमा उठाउने नेताका रूपमा प्रस्तुत गरिँदैछ। उनका पक्षधरहरू भन्छन्— उनले केवल भाषण होइन, व्यवहार र कार्यशैलीबाट विश्वास जितिरहेका छन्।
झापा–५ मा पुराना स्थापित राजनीतिक प्रभावबीच नयाँ ऊर्जा र साहसका साथ अघि बढेका रञ्जीत तामाङलाई लिएर चुनावी समीकरण रोचक बन्दै गएको छ। घरदैलो अभियान, युवा भेला र सामाजिक सञ्जालमा उनको सक्रियता बढ्दै जाँदा समर्थकहरू उत्साहित देखिन्छन्।
आगामी परिणाम जे भए पनि, झापा–५ को राजनीतिक बहसमा रञ्जीत तामाङ अब उपेक्षा गर्न नसकिने नाम बनेको स्थानीय विश्लेषकहरूको भनाइ छ।