देश आज गम्भीर मोडमा उभिएको छ । बेरोजगारी, अशिक्षा, अस्वस्थ प्रणाली र अवसरको अभावका कारण हाम्रा युवाहरू बाध्य भएर पासपोर्ट बोकेर विमानस्थलको लाइनमा उभिनुपरेको छ । यो कुनै रहरको यात्रा होइन, राज्यले दिन नसकेको रोजगारी र सम्मानको पीडादायी परिणाम हो । दिनहुँ ३०–४० वटा लास बाकसमा बन्द भएर मातृभूमि फर्किनु हाम्रो लागि लाजमर्दो यथार्थ बनेको छ ।
यही यथार्थको सामना गर्न अब हामीले देश र जनताप्रति साँचो अर्थमा बफादार भएर सोच्न र लाग्न आवश्यक छ । राजनीति कसैको विरोध–प्रतिरोधको माध्यम मात्र होइन । राजनीति त शिक्षामा समुन्नति, स्वास्थ्यमा समुन्नति, रोजगारीमा समुन्नति र नागरिकको जीवनस्तर उकास्ने मूल आधार हो ।
आजसम्म नेतृत्वमा पुरुषको एकाधिकार रहँदा नीति निर्माणमा समाजको आधा हिस्सा—महिलाको अनुभव, पीडा र दृष्टिकोण ओझेलमा परेको छ । त्यसैले अब महिला पनि केन्द्रीय नेतृत्वमा पुग्नैपर्छ । यो कुनै कृपा वा आरक्षणको विषय होइन, यो क्षमताको, आवश्यकताको र न्यायको विषय हो । महिलाले नेतृत्वमा पुग्दा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, बालबालिका, वृद्ध र श्रमिकका सवालहरू बढी गहिराइमा उठ्नेछन् ।
हामीले शिक्षालाई प्रमाणपत्रको कारखाना होइन, सीप र आत्मनिर्भरताको आधार बनाउनुपर्छ । स्वास्थ्यलाई व्यापार होइन, नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्नुपर्छ । रोजगारीका लागि विदेश धकेल्ने नीति होइन, आफ्नै देशमा उद्योग–धन्दा, उत्पादन र रोजगारी सिर्जना गर्ने नीति आवश्यक छ ।
आज बन्द अवस्थामा रहेका हाम्रा कपडा उद्योग, बोरा उद्योग, सिमेन्ट उद्योग लगायतका राष्ट्रिय उद्योगहरू पुनः सञ्चालन गर्न सके हामी हजारौँ युवालाई आफ्नै माटोमा रोजगारी दिन सक्छौँ । यदि देशमै काम, सम्मान र भविष्य देख्ने वातावरण सिर्जना भयो भने कोही पनि बाध्य भएर विदेश जानुपर्दैन । आमा–बाबुले छोराछोरीलाई विमानस्थलमा आँसु झार्दै बिदाइ गर्नुपर्दैन ।
देश बनाउने जिम्मा केवल सरकारको होइन, सचेत नागरिक र प्रतिबद्ध नेतृत्वको पनि हो । त्यस नेतृत्वमा महिलाको सशक्त, निर्णायक र केन्द्रीय उपस्थिति आजको आवश्यकता हो । देश र जनताप्रति बफादारी देखाउने नेतृत्वले मात्र शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता गर्न सक्छ ।
अब प्रश्न स्पष्ट छ—हामी लास गन्ने देश बन्ने कि आफ्नै माटोमा सम्भावना रोप्ने राष्ट्र बन्ने ?
यसको उत्तर परिवर्तनकारी सोच, समावेशी नेतृत्व र महिला सहभागितामा निहित छ ।
देश र जनताप्रति बफादारी यहीँबाट सुरु हुन्छ ।
लेखक: निशा पुडासैनी