इन्जिनियर रोहन कार्कीको दाबी: माघ ४ मा राजीनामाको उच्च सम्भावना
काठमाडौं । इन्जिनियर रोहन कार्कीले सामाजिक सञ्जालमार्फत दिएको स्टाटसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। उनको दाबीअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन ज्यु) ले माघ ४ गते पदबाट राजीनामा दिने र त्यसपछि देशव्यापी राजनीतिक सभाहरूमा सक्रिय रूपमा सहभागी हुने उच्च सम्भावना देखिएको छ।
कार्कीले आफ्नो स्टाटसमा “हामी आउँदैछौँ, सबैलाई धन्यवाद” भन्दै अबको राजनीतिक समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चिन्हको भएको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनको केन्द्रबिन्दुका रूपमा झापा क्षेत्र नं. ५ लाई विशेष रूपमा उल्लेख गर्दै यही क्षेत्रबाट देशले आशा र भरोसाको नयाँ दियो बाल्ने विश्वास व्यक्त गरेका छन्।
उनको स्टाटसमा प्रयोग गरिएको #Mission_Jhapa_5 ह्यासट्यागले झापा–५ लाई लक्षित विशेष राजनीतिक रणनीति र तयारीको संकेत गरेको छ। यसले वैकल्पिक राजनीति, नयाँ नेतृत्व र परिवर्तनको एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाइने सन्देश दिएको विश्लेषकहरू बताउँछन्।
यद्यपि मेयर बालेन शाहको राजीनामा र औपचारिक राजनीतिक यात्राबारे कुनै आधिकारिक घोषणा भने भइसकेको छैन। तर इन्जिनियर रोहन कार्कीको यो दाबीले आगामी दिनमा नेपाली राजनीतिमा ठूलो फेरबदल र नयाँ ध्रुवीकरणको सम्भावनालाई थप चासोका साथ हेरिएको छ।