दाङ । दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो। कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले बेलायत सरकारको सहयोगमा सञ्चालन भएका विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता अभिवृद्धि, पूर्वाधार विकास, तालिम तथा समुदायसँगको सहकार्य सुदृढ भएको उल्लेख गर्नुभयो। उहाँले समयमै भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ भवनलाई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीकका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
उहाँका अनुसार, उक्त सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति प्रहरीको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी बनाउनेछ। साथै, नागरिकमैत्री सेवा प्रवाहलाई मजबुत बनाउँदै पीडितहरूको गुनासो सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो।
प्रहरी कर्मचारीहरूलाई नागरिकप्रति अझ संवेदनशील बन्न निर्देशन दिँदै कार्कीले बोली, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी UNOPSका सिनियर एड्भाइजर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने इन्फ्रास्ट्रक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
बेलायत सरकारको सहयोगमा कुल २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रुपैयाँ ३५ पैसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।