काठमाडौं — समाजसेवी तथा युवा व्यवसायी प्रिन्स युवराज कार्कीले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर बनेको भन्दै अब केवल प्रधानमन्त्री परिवर्तनले समस्या समाधान नहुने बताएका छन्। उनले प्रधानमन्त्री सुशिला कार्कीको भनाइ उद्धृत गर्दै राजसंस्था बिना देश सम्हाल्न सक्ने अवस्था नरहेको दाबी गरेका हुन्।
कार्कीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार देशमा राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, उद्योग–कलकारखानाको बन्द, गाउँ–सहरको खालीपन र तीव्र वैदेशिक पलायनले राष्ट्रलाई गम्भीर संकटतर्फ धकेलेको छ। उनका अनुसार लाखौँ नेपाली रोजगारी र भविष्यको खोजीमा विदेशिन बाध्य छन् भने स्वदेशमै रोजगारीको सुनिश्चित सम्भावना कमजोर बन्दै गएको छ।
उनले भ्रष्टाचार र बेथितिका कारण राज्यका संरचनाहरू कमजोर बनेको उल्लेख गर्दै समस्या व्यक्ति विशेषमा नभई शासन प्रणालीमै रहेको बताएका छन्। “केवल प्रधानमन्त्री फेरेर समाधान निस्कँदैन, अब शासन प्रणालीमै परिवर्तन आवश्यक छ,” कार्कीको भनाइ छ।
कार्कीले देशलाई स्थायित्व, दिशानिर्देश र दीर्घकालीन हिततर्फ डोर्याउन राजालाई राष्ट्रको अभिभावकका रूपमा जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले बालेन शाह, रवि लामिछाने र गगन थापाजस्ता वर्तमान पुस्ताका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको भनाइलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने बताए।
उनका अनुसार राष्ट्र जोगाउन अब राजा, जनता र राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको आम धारणा बलियो बन्दै गएको छ।