द टन न्यूज विशेष संवाद
थाइल्याण्डबाट के सिक्ने? नेपालको पर्यटन कसरी बढाउने? के एनआरएनए प्रवासी नेपालीको अभिभावक हो?
द टन न्यूजका प्रधान सम्पादक एचबी ताम्राकारले एनआरएनए एनसीसी थाइल्याण्डका उपाध्यक्ष दिनेश बुढाथोकीसँग गर्नुभएको छोटो संवाद
एचबी ताम्राकार: थाइल्याण्ड पर्यटनका हिसाबले विश्वकै सफल गन्तव्यमध्ये एक हो। नेपालले थाइल्याण्डबाट के सिक्न सक्छ?
दिनेश बुढाथोकी: थाइल्याण्डले पर्यटनलाई केवल व्यवसाय नभई राष्ट्रिय अभियानका रूपमा विकास गरेको छ। यहाँ पूर्वाधार, सरसफाइ, सुरक्षा, आतिथ्यता र पर्यटन प्रवर्द्धनलाई समान महत्व दिइन्छ। नेपालमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा प्रशस्त छन्, तर त्यसको प्रभावकारी व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रचार र पर्यटकमैत्री सेवा विस्तारमा अझै धेरै काम गर्न आवश्यक छ। यी पक्षमा सुधार गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्छ।
एचबी ताम्राकार: तपाईंको विचारमा नेपालमा विदेशी पर्यटकको संख्या बढाउन के गर्नुपर्छ?
दिनेश बुढाथोकी: सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच बलियो सहकार्य आवश्यक छ। नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा ब्रान्डिङ गर्नुपर्छ। हवाई पहुँच विस्तार, पर्यटन पूर्वाधार सुधार, डिजिटल प्रचार, साहसिक पर्यटन, धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनलाई प्राथमिकता दिनुपर्छ। विदेशमा रहेका नेपालीहरूले पनि नेपालका पर्यटन गन्तव्यको प्रचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
एचबी ताम्राकार: धेरैले एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा संस्था र अभिभावक मान्छन्। तपाईंको दृष्टिमा एनआरएनएको भूमिका कस्तो हुनुपर्छ?
दिनेश बुढाथोकी: एनआरएनए संसारभर रहेका नेपालीहरूको साझा संस्था हो। यसको भूमिका केवल संगठन सञ्चालनमा सीमित हुनु हुँदैन। विदेशमा रहेका नेपालीहरूको समस्या समाधान, अधिकारको संरक्षण, नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र विपद्का बेला सहयोग गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। सबै प्रवासी नेपालीलाई समेटेर निष्पक्ष, एकताबद्ध र सेवामुखी रूपमा अघि बढ्न सके एनआरएनए साँच्चै प्रवासी नेपालीहरूको अभिभावक संस्थाका रूपमा अझ प्रभावकारी बन्न सक्छ।
एचबी ताम्राकार: अन्त्यमा, विदेशमा रहेका नेपालीहरूलाई तपाईंको सन्देश?
दिनेश बुढाथोकी: जहाँ रहे पनि आफ्नो देश, भाषा, संस्कृति र पहिचानलाई माया गरौं। नेपालको पर्यटन, लगानी र सकारात्मक छविको प्रवर्द्धनमा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिऔँ। एकताबद्ध भएर अघि बढे नेपाललाई समृद्ध बनाउन प्रवासी नेपालीहरूको भूमिका अझ सशक्त हुनेछ।