लगानी बोर्डको नेतृत्वमा नयाँ युगको सुरुवात, अक्सफोर्ड शिक्षित यांकी उक्याब सीईओ नियुक्त

theoutsidenepal.com

लगानी बोर्डको नेतृत्वमा नयाँ युगको सुरुवात, अक्सफोर्ड शिक्षित यांकी उक्याब सीईओ नियुक्त

काठमाडौं । नेपालमा विदेशी तथा स्वदेशी ठूला लगानी भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको हो।

अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेकी उक्याब विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा संस्थागत सुधारका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव भएकी विज्ञका रूपमा चिनिन्छिन्। उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्।

सरकारले विदेशी लगानी आकर्षित गर्ने, ठूला पूर्वाधार तथा ऊर्जा परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने, निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने तथा नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उक्याबलाई यो जिम्मेवारी दिएको जनाएको छ।

लगानी बोर्ड नेपालले ऊर्जा, पर्यटन, यातायात, पूर्वाधार लगायतका अर्बौं रुपैयाँका रणनीतिक परियोजनाको स्वीकृति, सहजीकरण र व्यवस्थापन गर्दै आएको छ। नयाँ नेतृत्वसँगै बोर्डको कार्यसम्पादन थप प्रभावकारी हुने, लगानीकर्ताको विश्वास बढ्ने तथा आर्थिक रूपान्तरणका योजनाले नयाँ गति लिने अपेक्षा गरिएको छ।

उक्याबको नियुक्तिलाई नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र दीर्घकालीन लगानी वातावरण सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया