अमेरिकामा “नेपाल डे परेड २०२६” भव्य रूपमा आयोजना हुँदै, सफल बनाउन सतेन्द्र शाहको आग्रह

theoutsidenepal.com

अमेरिकामा “नेपाल डे परेड २०२६” भव्य रूपमा आयोजना हुँदै, सफल बनाउन सतेन्द्र शाहको आग्रह

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिसबर्गमा आगामी मे ३१, २०२६ मा “नेपाल डे परेड २०२६” भव्य रूपमा आयोजना हुने भएको छ। एनआरएनए एनसीसी–यूएसए पेन्सिलभेनिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रम बिहान ११ बजे सिटी आइल्याण्ड, ह्यारिसबर्गमा हुने तय गरिएको छ।

“Where History Lives and Culture Thrives” भन्ने नारासहित आयोजना हुन लागेको यस परेडलाई नेपालका विभिन्न सांस्कृतिक, ऐतिहासिक तथा जातीय पहिचान झल्किने विशेष कार्यक्रमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली मौलिक संस्कृति, परम्परा, भेषभूषा तथा सांगीतिक झाँकीहरू प्रदर्शन गरिनेछन्।

कार्यक्रमलाई न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास (Consulate General of Nepal, New York) तथा एनआरएनए एनसीसी–यूएसएले सहयोग गर्ने जनाएको छ। पोस्टरमा नेपालको सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा विविध समुदायको सांस्कृतिक पहिचानलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।

एनआरएनए एनसीसी–अमेरिकाका अध्यक्ष सतेन्द्र शाहले सामाजिक सञ्जालमार्फत “Let’s make it grand success” भन्दै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच एकता, विविधता र नेपाली पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको “नेपाल डे परेड २०२६” लाई नेपाली समुदायको गौरवमय उत्सवका रूपमा हेरिएको छ।


प्रतिक्रिया