फोक्सोको क्यान्सर अनुसन्धानमा नेपाली चिकित्सकको ऐतिहासिक सफलता : डा. अरुण शाही IASLC को ग्लोबल काउन्सिल डेलिगेटमा चयन
काठमाडौं। नेपालका वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही (MD, MPH, FRCP) विश्वकै फोक्सोको क्यान्सरसम्बन्धी अनुसन्धान, उपचार तथा नीतिगत नेतृत्व गर्ने अग्रणी संस्था International Association for the Study of Lung Cancer (IASLC) को ग्लोबल काउन्सिल डेलिगेट पदमा नेपालको प्रतिनिधित्व गर्दै चयन भएका छन्। यो उपलब्धिलाई नेपालको स्वास्थ्य तथा क्यान्सर उपचार क्षेत्रका लागि ऐतिहासिक तथा गौरवपूर्ण सफलता मानिएको छ।
IASLC ले डा. शाहीको फोक्सोको क्यान्सरसम्बन्धी अनुसन्धानमा पुर्याएको महत्वपूर्ण योगदान, दीर्घ अनुभव तथा प्रभावकारी नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै यो जिम्मेवारी प्रदान गरेको हो। संस्थाकी प्रमुख कार्यकारी अधिकृत (CEO) डा. कारेन केली तथा ग्लोबल प्रोग्राम कोअर्डिनेटर एस्ली शुटे ले आधिकारिक रूपमा उहाँको चयन भएको घोषणा गरेका हुन्।
ग्लोबल काउन्सिल डेलिगेटका रूपमा डा. शाहीले नेपालसहित विश्वभरका क्यान्सर विशेषज्ञहरूसँग सहकार्य गर्दै फोक्सोको क्यान्सरसम्बन्धी अनुसन्धान, आधुनिक उपचार सेवा, नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यससँगै नेपालले अन्तर्राष्ट्रिय स्वास्थ्य मञ्चमा आफ्नो उपस्थिति अझ सशक्त रूपमा स्थापित गर्ने अवसर प्राप्त गरेको छ।
डा. अरुण शाही एनआरएनए मेडी हेल्थ सेन्टर का आदरणीय सल्लाहकारसमेत हुन्। उहाँको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई सम्पूर्ण नेपाली चिकित्सा समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। यसले विश्व स्वास्थ्य क्षेत्रमा नेपाली चिकित्सकहरूको दक्षता, क्षमता र योगदानलाई थप स्थापित गर्नुका साथै भावी पुस्ताका स्वास्थ्यकर्मीहरूलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थाहरूले डा. शाहीको यस ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै नेपालका लागि गर्वको विषय भएको बताएका छन्।
TON Media Group परिवार पनि डा. अरुण शाहीलाई यस ऐतिहासिक उपलब्धिका लागि हार्दिक बधाई व्यक्त गर्दै उहाँको आगामी कार्यकाल सफल, उपलब्धिमूलक र उदाहरणीय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ। विश्व स्वास्थ्य क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उँचो बनाउने उहाँको योगदान निरन्तर रहोस् भन्ने कामना गर्दछ।