नेपाल–थाइल्याण्ड पर्यटन व्यवसायीबीच बैंककमा बीटुबी बैठक सम्पन्न, पर्यटन सहकार्य विस्तारमा जोड

theoutsidenepal.com

नेपाल–थाइल्याण्ड पर्यटन व्यवसायीबीच बैंककमा बीटुबी बैठक सम्पन्न, पर्यटन सहकार्य विस्तारमा जोड

बैंकक, थाइल्याण्ड । नेपाल र थाइल्याण्डका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले बैंककस्थित अमारी होटलमा बिजनेस टु बिजनेस (B2B) बैठक सम्पन्न भएको छ।

नेपालको राजदूतावासद्वारा २९ मे २०२६ मा आयोजित उक्त कार्यक्रममा नेपालका १८ वटा प्रतिष्ठित पर्यटनसम्बन्धी कम्पनी तथा संस्थाका प्रतिनिधिहरू र थाइल्याण्डका ६३ पर्यटन कम्पनीका १०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपालतर्फबाट दुसित प्रिन्सेस, आलोफ्ट होटल, होटल रोयल सिङ्गी, कर्णाली र्‍याफ्टिङ्ग, माउन्टेन रुट्स, काठमाडौं होलिडे टुर्स एण्ड ट्राभल, पुमोरी जोर्नी, हिमालयन होलिडेज, एडभेञ्चर एक्स, नेपाल एयरलाइन्स, बुद्ध एयर लगायतका कम्पनीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डस्थित राजदूतले नेपाल र थाइल्याण्डबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पर्यटनले महत्वपूर्ण पुलको भूमिका खेलेको उल्लेख गरे। उनले नेपालका बौद्ध तीर्थस्थल, हिमाली पर्यटन, साहसिक गतिविधि, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराउँदै थाई पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न व्यवसायीहरूलाई आग्रह गरे।

बैठकले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीका सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवर्द्धनका लागि सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको राजदूतावासले जनाएको छ।

कार्यक्रममा नेपाललाई थाई पर्यटकका लागि आकर्षक, सहज पहुँचयोग्य तथा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो। विशेषगरी लुम्बिनी, जनकपुर, काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण पदमार्ग, वन्यजन्तु पर्यटन, योग तथा वेलनेस पर्यटन, विवाह पर्यटन, फिल्म पर्यटन तथा पर्वतीय साहसिक गतिविधिका सम्भावनाबारे प्रस्तुति गरिएको थियो।

कार्यक्रममा उपनियोग प्रमुख मोति बहादुर श्रीसले नेपाल र थाइल्याण्डबीच पछिल्लो १३ वर्षको पर्यटक आदानप्रदानसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा पर्यटन प्रवर्द्धनको अझै ठूलो सम्भावना रहेको बताए। उनका अनुसार सन् २०१३ मा थाइल्याण्डबाट ४० हजार ९६९ पर्यटक नेपाल आएका थिए भने सन् २०२५ मा उक्त संख्या ३० हजार २४३ मा सीमित रहेको छ।

बैठकमा थाइल्याण्डस्थित पर्यटन व्यवसायीहरूलाई नेपालको पर्यटकीय भिसा प्रणालीबारे जानकारी दिँदै भिसा आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन भइसकेको र आवश्यक अवस्थामा छोटो समयमै भिसा जारी गर्न सकिने जानकारी पनि गराइएको थियो।

राजदूतावासले कार्यक्रममा सहभागी नेपाली पर्यटन व्यवसायीहरूले तयार गरेका पर्यटन प्रवर्द्धनसम्बन्धी दृश्य तथा प्रचार सामग्रीहरू आगामी दिनमा नियमित रूपमा प्रचारप्रसार गर्ने जनाएको छ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूले यस प्रकारका बीटुबी कार्यक्रमले नेपाल–थाइल्याण्ड पर्यटन सम्बन्धलाई थप मजबुत बनाउँदै दुई देशबीच पर्यटक आवागमन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया