न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको द्विपक्षीय भेटवार्ता तीव्र

theoutsidenepal.com

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको द्विपक्षीय भेटवार्ता तीव्र

द टन न्युज ॥ विशेष रिपोर्ट

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका विदेशमन्त्री तथा वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता सुरु गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खनालले महासभाका विभिन्न मन्त्रीस्तरीय बैठक, उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा सहभागिता जनाउँदै नेपालका प्राथमिकता र चासोका विषयमा अन्तर्राष्ट्रिय समुदायसँग संवाद अघि बढाइरहेका छन्। 

खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगी, पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्की तथा युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।

भुटानका प्रधानमन्त्री तोब्गेसँगको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्ष तथा जलवायु परिवर्तनका कारण हिमाली मुलुकहरूले सामना गरिरहेका चुनौतीबारे छलफल भएको छ। दुवै पक्षले जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा त्यसका असर न्यूनीकरणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। 

जापानी विदेशमन्त्री मोतेगीसँगको भेटमा हालैको भोटेकोशी बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षति, खोज तथा उद्धार र पुनःस्थापनाका विषयमा छलफल भएको छ। जापानले आपत्कालीन राहतदेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। जापानबाट आपत्कालीन राहत सामग्री, ३० लाख अमेरिकी डलर बराबरको आपत्कालीन अनुदान तथा खोज, पहिचान र डीएनए परीक्षणमा सहयोग उपलब्ध गराउने विषयसमेत अघि बढाइएको छ।

मन्त्री खनालले जापान सरकार तथा जनताले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद दिँदै बाढीपछि बेपत्ता विदेशी नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको बताएका छन्। यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। नेपाल–जापान सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। 

पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिकोरस्कीसँग भएको भेटमा नेपाल–पोल्यान्ड सम्बन्ध, आपसी हितका क्षेत्रमा सहयोग विस्तार तथा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको छ।

त्यस्तै, युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरासँगको भेटमा नेपाल–युरोपेली संघ साझेदारी, जलवायु परिवर्तनका असर तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका लागि सहयोगका विषयमा छलफल भएको छ।

भोटेकोशी बाढीलाई नेपालले जलवायु परिवर्तनसँग जोडिएको गम्भीर चुनौतीका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै आएको छ। परराष्ट्रमन्त्री खनालले यसअघि नै जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी तथा उत्थानशील पुनर्निर्माणलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। 

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कतर्फ प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

परराष्ट्रमन्त्री खनालले महासभाको अवसरलाई नेपालका जलवायु प्राथमिकता, विपद् पुनःस्थापना, आर्थिक तथा विकास साझेदारी र बहुपक्षीय कूटनीतिका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरका रूपमा प्रयोग गरिरहेका छन्।


प्रतिक्रिया