‘अग्रजको सम्मान र युवाको ऊर्जासहित नवीन कांग्रेस निर्माण गर्छौं’ : झल विश्वकर्मा
द टन न्युज । नवलपुर ।
नेपाली कांग्रेसकी नेतृ झल विश्वकर्मा नवलपुर क्षेत्र नं. २ बाट पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
निर्वाचित भएपछि विश्वकर्माले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने सम्पूर्ण अग्रज नेता, कार्यकर्ता तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
विश्वकर्माले अग्रजको सम्मान र युवाको ऊर्जालाई साथमा लिएर ‘नवीन कांग्रेस’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आफूलाई प्राप्त माया, भरोसा र अमूल्य मतप्रति सदैव ऋणी रहने बताएकी छन्।
उनले महाधिवेशन प्रतिनिधिको निर्वाचनलाई कसैको हार वा जितका रूपमा नभई पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने धारणा राखेकी छन्।
प्रतिस्पर्धामा सहभागी सम्पूर्ण उम्मेदवार तथा साथीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै विश्वकर्माले अब सबै एकताबद्ध भएर पार्टी संगठनलाई थप सबल बनाउनुपर्नेमा जोड दिएकी छन्।
उनले ‘सबल संगठन, समुन्नत नवलपुर र समुन्नत नेपाल’ निर्माणको लक्ष्यलाई साकार पार्न सबै मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।
विश्वकर्माले आफ्नो धन्यवाद सन्देशको अन्त्यमा ‘जय नेपाल’ उल्लेख गर्दै पार्टीभित्रको एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने संकेत गरेकी छन्।