काठमाडौं – वरिष्ठ पत्रकार उमेश चौहान ले कान्तिपुर मिडिया ग्रुप बाट अलग भएको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा चौहानले कृतज्ञता र गर्वका साथ संस्थाबाट अलगिएको उल्लेख गर्दै आफ्नो पत्रकारिता यात्रामा कान्तिपुरको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले सुरुदेखि नै कान्तिपुरमा काम गर्ने चाहना रहेको र सो संस्थाको सम्पादकीय नेतृत्व गर्ने अवसर पाउनु आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
चौहानले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रवन्ध निर्देशक सम्भव सिरोहिया तथा सिईओ महेश दाहालप्रति विशेष आभार व्यक्त गरेका छन्। साथै, सम्पूर्ण सहकर्मी—सम्पादकीय टिम, प्राविधिक, प्रशासनिक कर्मचारीदेखि छपाइ र वितरणमा खटिने कर्मचारीसम्म—को योगदानलाई उनले स्मरण गरेका छन्।
उनले पाँच वर्ष काम गर्ने लक्ष्यसहित कान्तिपुर प्रवेश गरेको र उक्त प्रतिबद्धता पूरा भएको पनि स्पष्ट पारेका छन्। आगामी नेतृत्वमा कान्तिपुर अझ सबल, विश्वसनीय र प्रभावशाली बन्दै जाने विश्वास व्यक्त गर्दै उनले संस्थाको उज्ज्वल भविष्यको कामना गरेका छन्।
चौहानले आफ्नो यात्रा यहीँ समाप्त नभएको संकेत गर्दै छिट्टै नयाँ प्रतिबद्धतासहित फर्किने बताएका छन्।