कैलाली–४ बाट गोरखबहादुर बिष्ट ‘आनन्द’ अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित
१६ असोज, कैलाली । द टन न्युज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ अत्यधिक लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा कुल ६९० मत खसेकामा बिष्टले ५६० मत प्राप्त गरेका हुन्। उनले कुल खसेको मतको करिब ८१ प्रतिशत मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजय हासिल गरेका छन्।
निर्वाचन परिणामपछि नेता बिष्टले आफूलाई अमूल्य मत प्रदान गर्ने क्षेत्रीय प्रतिनिधि, वडाध्यक्ष, पार्टीका नेता तथा कार्यकर्ता र सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
समर्थक तथा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संसदीय निर्वाचनदेखि हालसम्म कैलाली क्षेत्र नम्बर ४ का दाजुभाइ तथा दिदीबहिनीहरूले देखाउँदै आएको माया, स्नेह र विश्वासले आफूलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको बताए।
फराकिलो मतसहितको विजयले आफ्नो काँधमा थप जिम्मेवारी आएको महसुस गरेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई एकताबद्ध, अनुशासित र सुदृढ बनाउँदै मुलुकको विकास, समृद्धि र आर्थिक रूपान्तरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
तीन दशकभन्दा लामो समयदेखि लोकतान्त्रिक आन्दोलन, पार्टीको सङ्गठन निर्माण, सामाजिक सेवा र जनजीविकाका सवालमा सक्रिय रहँदै आएका बिष्टले कांग्रेसलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकता सम्बोधन गर्न सक्ने गतिशील, उत्तरदायी र परिणाममुखी पार्टीका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए।
उनले आफू व्यक्तिगत पद, प्रतिष्ठा वा महत्त्वाकाङ्क्षाका लागि नभई जनता र पार्टीका कार्यकर्ताको सच्चा सेवकका रूपमा राजनीतिमा सक्रिय रहेको स्पष्ट पारे। पार्टीभित्रको गुटबन्दी र आन्तरिक खिचातानी अन्त्य गर्दै एकता, आपसी सम्मान, अनुशासन र सहकार्यको संस्कृति स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
बिष्टको पहलमा यसपटक कैलाली क्षेत्र नम्बर ४ मा वडा तहदेखि क्षेत्रीय तहसम्म नेतृत्व चयन सर्वसम्मत रूपमा सम्पन्न भएको विषयलाई पनि पार्टीभित्रको एकता र सहकार्यको अभ्यासका रूपमा हेरिएको छ।
यसैगरी, विदेशमा रहेका लाखौँ नेपालीले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने तथा प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
उनले कांग्रेसलाई सुदृढ बनाउन नीतिगत स्पष्टता, युवा पुस्ताको सहभागिता र जनविश्वासलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रविधिमैत्री पार्टी निर्माण, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, उद्यमशीलता, आर्थिक रूपान्तरण, समावेशिता र पार्टीभित्रको एकतालाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा प्रस्तुत गरे।
“कांग्रेसलाई सुदृढ, नीतिगत रूपमा स्पष्ट र युवा पुस्ताको आशाको केन्द्र बनाउन म सधैँ सक्रिय रहनेछु। प्रविधिमैत्री पार्टी, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण तथा समावेशी र एकताबद्ध कांग्रेस निर्माणप्रति म प्रतिबद्ध छु,” उनले भने।
कांग्रेस निर्वाचन जित्ने माध्यम मात्र नभई मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणको महत्त्वपूर्ण संवाहक बन्नुपर्ने धारणा राख्दै बिष्टले पार्टीलाई आधुनिक, पारदर्शी र आम नागरिकको विश्वास जित्न सक्ने संस्थाका रूपमा स्थापित गर्न आफू निरन्तर लागिरहने बताए।
कैलाली क्षेत्र नम्बर ४ बाट प्राप्त ५६० मतसहितको विजयसँगै बिष्टले आगामी १५औँ महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएका छन्।