२४ वर्षीय कान्छो छोराको सम्झनामा हेम थापाको भावुक स्टाटस: “कहिले आउँछौ छोरा भनेर यो अशाहारा बुढो बाउ पर्खी बसेको छु…”
काठमाडौं। बरिष्ठ समाजसेवी हेम थापाले दिवंगत कान्छो छोराको सम्झनामा सामाजिक सञ्जालमा लेखेको अत्यन्त मार्मिक स्टाटसले धेरैलाई भावुक बनाएको छ। केही दिनअघि अमेरिकी आर्मीको तालिमका क्रममा २४ वर्षीय कान्छो छोराको निधन भएपछि शोकमा रहेका थापाले छोराको मानवीय सेवा र समाजप्रतिको योगदान सम्झँदै हृदयविदारक अभिव्यक्ति सार्वजनिक गरेका हुन्।
थापाले आफ्नो स्टाटसमा छोराले पहिलो पटक नेपाल आउँदा सात लाख रुपैयाँभन्दा बढी रकम विभिन्न विद्यालय, संघ–संस्था तथा आफूले अध्ययन गरेको दीपज्योति विद्यालयलाई सहयोग गरेको उल्लेख गरेका छन्। साथै, आफ्नी बहिनीसँग एउटा टेलिशृंखलामा अभिनय गरेर प्राप्त पारिश्रमिकमध्ये करिब एक लाख ५० हजार रुपैयाँ समेत सहयोग गरेको र जन्मदिनका अवसरमा समेत दुःखी तथा पीडित परिवारलाई पटक–पटक ५०–५० हजार रुपैयाँ सहयोग गर्दै आएको स्मरण गरेका छन्।
स्टाटसमा उनले छोरालाई सम्बोधन गर्दै लेखेका छन्, “तिमी कहाँ छौ छोरा अहिले? कहाँ बसेर हेरी रहेका छौ बाबा? कहिले आउँछौ छोरा तिमी? के गर्दै छौ बाबा? तिमी कहिले आउँछौ भनेर यो अशाहारा बुढो बाउ पर्खी बसेको छु है छोरा…।”
हेम थापाको यो भावुक अभिव्यक्तिले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ। स्टाटसमा सयौं व्यक्तिले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। धेरैले छोराले कम उमेरमै समाजसेवा र परोपकारमा पुर्याएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै उनको स्मृतिलाई सम्मान गरेका छन्।
२४ वर्षको उमेरमै जीवन गुमाएका ती युवाको निधनले परिवारसँगै उनलाई चिन्ने सबैलाई गहिरो पीडा दिएको छ। हेम थापाको यो मार्मिक स्टाटसले सन्तान गुमाएको बाबुको असह्य पीडा र छोराप्रतिको अथाह माया शब्दमा उतारेको छ।