विपत्तिमा मानवीय सहयोग : प्रधानमन्त्री कोषमा १५ लाख, १०० परिवारलाई भाँडाकुँडा

theoutsidenepal.com

विपत्तिमा मानवीय सहयोग : प्रधानमन्त्री कोषमा १५ लाख, १०० परिवारलाई भाँडाकुँडा

नुवाकोट । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा साथ दिन समाजसेवी तथा व्यवसायी अनिल पाण्डे र प्रिन्स युवराज कार्कीको टिमले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ।

अमेरिकाको क्यालिफोर्नियामा व्यवसाय गर्दै आएका वरिष्ठ समाजसेवी अनिल पाण्डे अहिले नेपालमै रहेका छन्। पाण्डेसँगै क्यालिफोर्नियामा व्यवसाय गर्दै आएका प्रिन्स युवराज कार्कीलगायतको टिमले विपत्तिमा परेका नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याउने अभियान अघि बढाएको हो।

अभियानअन्तर्गत प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग गरिएको छ। त्यसैगरी नुवाकोटको बेत्रावती क्षेत्रका बाढी प्रभावित १०० परिवारलाई घरायसी प्रयोजनका भाँडाकुँडा तथा आवश्यक राहत सामग्री वितरण गरिएको छ।

सरकारी राहत कोषमा सहयोग गर्नुका साथै प्रभावित परिवारको घरदैलोमै पुगेर आवश्यक सामग्री उपलब्ध गराउने प्रयासले विपत्तिमा पीडित नागरिकलाई तत्काल राहत र भरोसा दिएको छ।

समाजसेवी पाण्डे र प्रिन्स युवराज कार्कीको टिमले विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग पुर्‍याउँदै आएको जनाएको छ। उनीहरूको पहलले ‘कमाइ जहाँ भए पनि मातृभूमिको पीडामा साथ दिनुपर्छ’ भन्ने सामाजिक उत्तरदायित्वको भावना झल्काएको छ।

बाढीबाट प्रभावित परिवारहरूका लागि तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनामा समेत सहयोग आवश्यक रहेको भन्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

विपत्तिको समयमा सहयोग केवल रकम होइन, पीडितको जीवनमा आशा र भरोसा जगाउने माध्यम पनि हो।


प्रतिक्रिया