सांसद रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति एनआरएनए एनसीसी अमेरिकाको आपत्ति, जिम्मेवार अभिव्यक्तिको आग्रह

theoutsidenepal.com

काठमाडौं/अमेरिका — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले राष्ट्रिय सभाकी माननीय सदस्य रामकुमारी झाँक्रीले नेपाल बाहिर बस्ने नेपालीहरूसम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति गैरआवासीय नेपाली समुदायको सम्मान र योगदानमाथि प्रश्न उठाउने खालको रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।


पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीबाट देशबाहिर रहेका नेपालीहरूको मानमर्दन हुने किसिमका टिप्पणी आउनु दुःखद रहेको परिषद्को भनाइ छ। नेपालका नीति–नियम निर्माण गर्ने जिम्मेवार निकायमा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने भन्दै परिषद्ले गम्भीर चासो व्यक्त गरेको छ।


एनआरएनए एनसीसी अमेरिकाका अनुसार गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक सुदृढीकरण, विकास निर्माण, आपतकालीन सहयोग, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा निरन्तर, उल्लेखनीय र ऐतिहासिक योगदान दिँदै आएका छन्। यस वास्तविकतालाई बेवास्ता गर्दै आएका अभिव्यक्तिले समुदायको मनोबल कमजोर पार्ने परिषद्को ठहर छ।


विज्ञप्तिमा सार्वजनिक पदमा आसिन व्यक्तिहरूले गैरआवासीय नेपाली समुदायप्रति सम्मानजनक, जिम्मेवार र तथ्यमा आधारित धारणा व्यक्त गर्नुपर्नेमा जोड दिइएको छ। साथै, झाँक्रीको अभिव्यक्तिको कडा खण्डन गर्दै एनआरएनए एनसीसी अमेरिकाले नेपाली समुदायको सम्मान, पहिचान र अधिकारविरुद्ध हुने कुनै पनि अभिव्यक्ति तथा गतिविधिको निरन्तर विरोध गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।


नेपालको हित, नेपालीहरूको अधिकार र राष्ट्रिय एकताको पक्षमा गैरआवासीय नेपालीहरू सधैं दृढताका साथ उभिने परिषद्ले जनाएको छ।


“एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूलमन्त्रसहित जारी उक्त विज्ञप्ति एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीद्वारा हस्ताक्षरित छ। विज्ञप्ति फेब्रुअरी १०, २०२६ मा सार्वजनिक गरिएको हो।


प्रतिक्रिया