अछाम–१ मा भीम रावललाई झट्का, ७५ भन्दा बढी नेता एमालेमा प्रवेश

theoutsidenepal.com

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातिँदै जाँदा भीम रावल लाई ठूलो राजनीतिक धक्का लागेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका रावलको पक्षमा सक्रिय नेताहरू नै पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेपछि चुनावी समीकरण बदलिने संकेत देखिएको छ।


निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपाकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मना कुमारी साउदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले आफूहरू “घर फर्किएको” भन्दै अब एमालेको पक्षमा खुलेर चुनावी अभियानमा लाग्ने घोषणा गरेका छन्।


अछाम–१ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। नेकपाबाट भीम रावल, नेकपा (एमाले) बाट दिपक साउद र नेपाली कांग्रेसबाट भरतकुमार स्वाँर उम्मेदवार रहेका छन्। विशेषगरी पूर्वमन्त्री र केन्द्रीय तहका नेताहरूको एमाले प्रवेशले दिपक साउदको अभियान थप बलियो बनेको एमाले नेताहरूको दाबी छ।


स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको सामूहिक रूपमा एमाले प्रवेशले गाउँ–गाउँसम्म चुनावी सन्देश पुगेको विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले अछाम–१ मा नेकपाको सांगठनिक संरचनामा प्रत्यक्ष असर पर्नेछ भने एमालेको पक्षमा मत ध्रुवीकरण हुन सक्ने सम्भावना बढेको छ।


उता, भीम रावल पक्षले भने केही व्यक्तिको पार्टी परिवर्तनले समग्र परिणाममा ठूलो असर नपर्ने दाबी गर्दै आफूहरूको जनाधार मजबुत रहेको प्रतिक्रिया दिएको छ।


अछाम–१ मा अब चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। नेताहरूको आवागमन र गठबन्धनका समीकरणले अन्तिम परिणाम कता मोडिने हो भन्नेमा सर्वत्र चासो बढेको छ।


प्रतिक्रिया