काठमाडौं ।रास्वपा का सभापति रवि लामिछाने झापामा हुने चुनावी अभियानलाई थप सशक्त बनाउन झापा जाने भएका छन्। काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख ,रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्दै मतदातासँग भोट माग्न उनी झापा पुग्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र तथा वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउने उद्देश्यसहित रवि लामिछाने झापा जान लागेका हुन्। उनले झापाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने, युवा र पहिलोपटक मतदान गर्ने मतदातासँग अन्तरक्रिया गर्ने तथा घरदैलो कार्यक्रममा समेत सहभागी हुने तयारी गरेका छन्।
बालेनलाई स्वच्छ राजनीति, पारदर्शिता र विकासमुखी नेतृत्वको प्रतीकका रूपमा प्रस्तुत गर्दै रवि लामिछानेले झापावासीसँग परिवर्तनको पक्षमा उभिन अपिल गर्ने कार्यक्रम रहेको बताइएको छ। विशेषगरी युवामाझ लोकप्रिय दुवै नेताको संयुक्त उपस्थितिले झापाको चुनावी माहोल थप तात्ने विश्लेषण गरिएको छ।
झापामा हुने यस अभियानलाई नयाँ राजनीतिक समीकरण र वैकल्पिक शक्तिको सन्देशका रूपमा हेरिएको छ। चुनाव नजिकिँदै जाँदा शीर्ष नेताहरूको जिल्ला दौड तीव्र बन्दै गएको छ।