समर्थकदेखि सदस्यसम्म: प्रवासबाट देश परिवर्तनको महाअभियान घोषणा

theoutsidenepal.com

“समर्थकदेखि सदस्यसम्म: प्रवासबाट देश परिवर्तनको महाअभियान घोषणा”


काठमाडौं।

प्रवासमा रहेका नेपालीहरूको भूमिका केवल रेमिट्यान्समा सीमित नभई देश निर्माणको सह–निर्माताको रूपमा स्थापित गर्न लक्ष्यसहित नयाँ अभियान सार्वजनिक गरिएको छ। प्रवास नेपाली सम्पर्क विभागका प्रमुख दीपक बोहरा ले “समर्थक भएर संसद बदल्यौं, सदस्य भएर देश बदल्छौँ” भन्ने मूल नारासहित विस्तृत कार्यक्रम अघि सार्नुभएको हो।


घोषित योजनाअनुसार अब प्रवासमा रहेका नेपालीहरूलाई औपचारिक रूपमा संगठित गर्दै कम्तिमा १० लाख सदस्य बनाउने लक्ष्य राखिएको छ। यो अभियानले प्रवासी नेपालीलाई प्रत्यक्ष रूपमा नेपालको राजनीतिक तथा विकास प्रक्रियासँग जोड्ने विश्वास गरिएको छ।


यसैगरी विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यसले लगानी, उद्यमशीलता, रोजगारी सिर्जना र स्वदेश फर्किने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आगामी चरणमा ‘आइडिया बैंक’ समेत सञ्चालन गरिने जनाइएको छ।


प्रवास विभागकै नेतृत्वमा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ, जसमा विश्वभर रहेका नेपाली संगठनहरूको सक्रिय सहभागिता रहनेछ।


त्यस्तै, नेपालका उत्पादनलाई विश्व बजारमा पुर्‍याउन ‘Export Mapping’ अभियान सञ्चालन गरिनेछ। कृषि, जडीबुटी, हस्तकला, आईटी सेवा र पर्यटनलाई प्राथमिकतामा राख्दै “जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन” अवधारणा लागू गरिने बताइएको छ।


प्रवासमा रहेका नेपालीहरूको समस्यालाई तत्काल सम्बोधन गर्न २४सै घण्टा सञ्चालन हुने ‘इमर्जेन्सी हेल्पडेस्क’ स्थापना गरिनेछ। यसले श्रमिक, विद्यार्थी तथा आपतकालीन अवस्थाका नेपालीहरूलाई कानुनी, स्वास्थ्य तथा दूतावास समन्वय सेवाहरू प्रदान गर्नेछ।


अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि मजबुत बनाउन सेमिनार, नीति संवाद र थिंक ट्यांक सहकार्य कार्यक्रमहरू सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ। साथै, प्रवासी नेटवर्कमार्फत पर्यटन प्रवर्द्धन गर्दै नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।


प्रवासी नेपालीहरूको अधिकारका विषयमा समेत स्पष्ट धारणा राख्दै दोहोरो नागरिकताको पक्षमा उभिने, सम्पत्ति सम्बन्धी झन्झट हटाउने र विदेशमै मतदानको व्यवस्था मिलाउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


प्रमुख बोहराले संसदमा सुरु भएको परिवर्तनलाई अब देशको हरेक क्षेत्रमा विस्तार गर्न प्रवास नेपालीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ।


प्रतिक्रिया