काठमाडौँ — नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगवती न्यौपानेले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले भोगिरहेको आन्तरिक संकटले सिङ्गो देश र लोकतान्त्रिक व्यवस्थालाई नै पीडा दिएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको धारणा व्यक्त गर्दै उहाँले हाल देखिएका राजनीतिक घटनाक्रमहरू शृङ्खलाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो। “पार्टीहरूमाथि हमला, देशमाथि हमला, राजनीतिक रूपमा अपरिपक्व शक्तिलाई लोकप्रिय बनाउन गरिएको मेहनत र राजनीतिज्ञहरूलाई विस्थापित गर्दै अन्य क्षेत्रका व्यक्तिहरूलाई स्थापित गर्ने खेल देखिँदैछ,” उहाँको भनाइ छ।
न्यौपानेले नेपालको राजनीतिमा अझै अनिष्टका काला बादल मडारिने संकेत देखिएको उल्लेख गर्दै यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार नेकपा (एमाले) तुलनात्मक रूपमा एकताबद्ध रहन सफल भएको छ, किनकि एमालेले समयमै भू–राजनीतिक प्रभावको डरलाग्दो खेललाई बुझ्न सकेको छ र त्यसबारे जनतालाई बुझाउने प्रयास निरन्तर जारी छ।
अन्त्यमा उहाँले नेपाली कांग्रेसप्रति संकेत गर्दै अझै समय बाँकी रहेको र पार्टी विभाजन नहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। “लोकतन्त्र बलियो बनाउन ठूला राजनीतिक दलहरू एकताबद्ध र जिम्मेवार हुन आवश्यक छ,” उहाँको धारणा छ।