धनगढीमा मृत भेटिएका बिराज ताम्राकार प्रकरण: न्यायको माग गर्दै बुवाको आक्रोश, जिप्रकामै आत्मदाहको चेतावनी

theoutsidenepal.com

धनगढीमा मृत भेटिएका बिराज ताम्राकार प्रकरण: न्यायको माग गर्दै बुवाको आक्रोश, जिप्रकामै आत्मदाहको चेतावनी

धनगढी — कैलालीको धनगढीमा मृत अवस्थामा भेटिएका बिराज ताम्राकारका बुवाले छोराले अहिलेसम्म न्याय नपाएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमै पुगेर कडा असन्तुष्टि व्यक्त गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै उनले प्रहरीकै सामु आत्मदाह गर्ने चेतावनी दिएका छन्।

बिराजका बुवाले अनुसन्धान सुस्त भएको र वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन पर्याप्त पहल नभएको आरोप लगाउँदै आफूहरू न्यायका लागि निरन्तर संघर्ष गरिरहेको बताएका छन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यस घटनाबारे कैलाली प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक बिराजसँग प्रेम सम्बन्धमा रहेकी सुवेदी थरकी एक किशोरी तथा उनका आमाबुवालाई आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित सबै पक्षबाट प्रमाण संकलन, बयान तथा अन्य आवश्यक अनुसन्धान भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

उक्त घटनाले धनगढीसहित देशभर चासोको विषय बनेको छ। पीडित परिवारले निष्पक्ष अनुसन्धान र न्यायको माग गरिरहँदा अनुसन्धानको अन्तिम निष्कर्षलाई सबैले प्रतीक्षा गरिरहेका छन्।


प्रतिक्रिया