भव्य समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट योगदानकर्तालाई उच्च सम्मान

theoutsidenepal.com

दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य तथा गरिमामय वातावरणमा बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी संगठनको व्यावसायिकता, दक्षता र प्रशिक्षण प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।


समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको प्रशिक्षण तथा संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्‍याउनु भएका अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्दै उहाँको योगदानलाई ऐतिहासिक र प्रेरणादायी बताउनुभयो। उक्त सम्मानले प्रहरी संगठनप्रतिको समर्पण र सेवाभावलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।


त्यसैगरी प्रशिक्षण गतिविधिलाई व्यवस्थित, प्रभावकारी र आधुनिक ढंगले सञ्चालन गर्दै दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका खेलेको भन्दै नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनलाई सर्वोत्कृष्ट तालिम केन्द्र घोषणा गरिएको छ। सो अवसरमा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई रनिङ्ग शिल्डसहित प्रशंसापत्र प्रदान गरिएको थियो।


भरतपुर–चितवनस्थित उक्त शिक्षालयले आधुनिक प्रशिक्षण प्रणाली, अनुशासन र उत्कृष्ट व्यवस्थापनमार्फत राष्ट्रिय स्तरमै नयाँ मापदण्ड स्थापित गरेको भन्दै कार्यक्रमका वक्ताहरूले प्रशंसा गरेका थिए।


कार्यक्रममा उपस्थित वरिष्ठ प्रहरी अधिकारी, प्रशिक्षक, प्रशिक्षार्थी तथा अतिथिहरूले प्रहरी संगठनको इतिहास, उपलब्धि र आगामी योजनाबारे चर्चा गर्दै आगामी दिनमा अझ सशक्त, व्यावसायिक र जनमैत्री प्रहरी निर्माणमा यस्ता प्रशिक्षण संस्थाको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया