काठमाडौं, माघ ३ — प्रदेशको ऐतिहासिक नामकरण दिवस र जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिएको अवसरमा आज प्रदेशसभाका सभामुख राम अशिष यादवले सम्पूर्ण प्रदेशवासीलाई हार्दिक बधाई र शुभकामना दिएका छन् ।
सभामुख यादवले मधेस प्रदेशको नाम र यससँग सम्बन्धित ऐतिहासिक उपलब्धिलाई शहिद, आन्दोलनकारी र संघर्षरत व्यक्तिहरूको बलिदानको प्रतिफल भएको बताए । उनले शहिदहरूको योगदानको स्मरण गर्दै, “शहिदहरूको देखाएको बाटोमा हिँड्नु हाम्रो साझा दायित्व हो” भने ।
यादवले सामाजिक न्याय, समानता, स्वाभिमान र समावेशितामा आधारित लोकतान्त्रिक समाजको निर्माण आजको साझा लक्ष्य भएको उल्लेख गर्दै प्रदेशवासीलाई सुशासन, शान्ति र समृद्धिको मार्गमा अघि बढ्न आह्वान पनि गरे ।
सभामुख यादवले यस अवसरमा मधेस प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताको सम्मान गर्दै सबै समुदाय र राजनीतिक धारालाई प्रदेशको दिगो विकास र समृद्धितर्फ एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले आफ्नो सन्देशमा यस वर्षको नामकरण दिवसले मात्र औपचारिक उत्सव नभई, मधेसको पहिचान, स्वाभिमान र लोकतान्त्रिक उपलब्धिको प्रतीक भएको समेत जोड दिएका छन् ।